स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड



स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड

देउखुरी २३ असार । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंगलबार राप्ती उपत्यका देउखुरीमा स्वास्थ्य प्रवर्द्धनका लागि मिडिया पैरवी कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले स्वास्थ्य सम्बन्धी सूचना, सन्देश तथा स्वास्थ्य कार्यक्रमहरू नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको विषयमा जोड दिएका छन् । स्वास्थ्य प्रवर्द्धनका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउन सञ्चारकर्मी र स्वास्थ्य संस्थाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने बताए ।

अर्यालले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई रोगको रोकथाम, स्वस्थ जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। उनले स्वास्थ्य सम्बन्धी सही सूचना नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका उपलब्धि, चुनौती र जनस्वास्थ्यका सन्देशहरूलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न आग्रह गरे। उनले पछिल्लो समय नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या, मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाइ तथा महामारीजन्य रोगहरूको जोखिमबारे जनचेतना फैलाउन सञ्चारमाध्यमको सहकार्य अपरिहार्य रहेको बताए। गलत सूचना र अफवाहका कारण स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई अनुरोध गरे।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्य सम्बन्धी समाचारलाई अझ प्रभावकारी र जनमुखी बनाउन आवश्यक सूचना तथा तथ्यांक समयमै उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्वास्थ्य तथा सञ्चारमाध्यमबीच नियमित समन्वय र सूचना आदान–प्रदानको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए । मिडिया पैरवी कार्यक्रम मार्फत स्वास्थ्य प्रवर्द्धनका लागि सञ्चार रणनीति, जनस्वास्थ्यका प्राथमिकता, स्वास्थ्य सम्बन्धी सचेतनामूलक सामग्री उत्पादन तथा समुदाय स्तरसम्म सूचना प्रवाह गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सम्बन्धी विभिन्न अभियानहरूलाई प्रभावकारी बनाउन रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालको उपयोगबारे समेत चर्चा गरिएको थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत संदेश पाैडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे