सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल



सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल

काठमाडौँ ३ जेठ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ ।

सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका छन् ।पहिलो पत्र पढेर अर्को पत्रमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले चर्का नाराबाजी गरेपछि सभामुख घिमिरे रोकिए । कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरे ।

कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका छन् । सहकारी ठगलाई कार्बाही गर्न भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरे । सांसदहरुले केही बेर नाराबजी गरेपछि सभामुख घिमिरेले राष्ट्रपतिले पठाएको वैशाख ३१ मा मन्त्री र राज्यमन्त्री नियुक्तिको पत्र पढेर कार्यसूची अघि बढाए । त्यसपछि उनले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए । त्यसपछि कांग्रेस सांसदहरुले लामिछानेलाई रोस्ट्रममा जानबाट रोके । त्यसपछि एमाले सांसदहरू पनि सिटबाट उठेर बाटो खुलाउन अघि सरे । एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै बाटो खुलाउन अघि सरेपछि सांसदहरूबीच धकेलाधकेलको अवस्था आयो । त्यसपछि सभामुख घिमिरेले शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे