दाङकाे कोइलाबासमा खानेपानीको समस्या : मन्त्री ढकालद्वारा अनुगमन



दाङकाे कोइलाबासमा खानेपानीको समस्या : मन्त्री ढकालद्वारा अनुगमन

देउखुरी ३ जेठ । गर्मीयाम सुरु भए सँगै भारत सँग सिमा जोडिएको दाङको कोइलाबासमा खानेपानीको समस्या देखिएको छ । लुम्बिनी प्रदेशको राजधानी तथा दाङ स्थित नेपाल भारतको मुख्य प्रवेशद्धाराको रुपमा रहेको कोइलाबासमा खानेपानीको मुहान सुकेपछि यति बेला कोइलाबासका स्थानीयहरुले खोलाको दुषित पानी पिउनु परेको छ ।कोइलाबास खोलाबाट पानी संकलन गरि १ लाख ५० हजार लि. को ट्याङ्कीबाट पानी खाइरहेका स्थानीयहरूलाई अहिले ट्याङ्कीको पानी सुकेपछि खोलाको दुषित खानेपानी पिउन बाध्य भएका हुन् । पानी ट्याङ्की र खोलाबाट संकलन हुँदै आएको पानी सुकेको र पानीको मुहान र ट्याङ्की फोहोरो रहेकोे छ । कोइलाबासका करिब १ सय २० घर परिवारलाई खानेपानीको समस्या भएको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खालिक सिद्धिकीले बताएका छन् । बाह्य तथा आन्तरिक पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्या परेका छन्। राप्तीको प्रवेशद्वारको रुपमा रहेको कोइलाबासमा नेपालसँगै भारत तिरबाट घुमफिरका लागि मानिसहरु आउने गरेको वडा अध्यक्ष सिद्धिकीले बताए । खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसायलाई प्रत्यक्ष असर छ । सरसफाई, कपडा धुने, भाडा धुने लगायतका कामका लागि खोलाको पानी प्रयोग गर्न सकिने भए पनि खाना पकाउने र खोलाका लागि भने शुद्ध पानी आवश्यक रहे पनि समस्या भइरहेको छ ।यता बिहिवार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले कोइलाबासको खानेपानीको अवस्था बारे स्थलगत निरिक्षण तथा अनुगमन गरेका छन् । मन्त्रालयको आयोजनामा कोइलाबासको खानेपानीको अवस्थाबारे बुझ्न मन्त्री सहितको टोलीले बिहीबार निरिक्षण तथा अनुगमन गरेको हो । खानेपानीको समस्या समाधान गर्न वडा अध्यक्ष सिद्विकीले अर्थविज्ञद्वारा चेकजाँच नगरी हचुवाको भरमा डिपबोरिङ गाडे त्यो सफल हुन नसक्ने बताए । उनले अहिले पनि स्थानीयले खोलाको पानी खानु परेको गुनासो गरे । तत्काल खानेपानी समस्या हल गर्न गढवा गाउँपालिकाले दमकल पठाएर खानेपानी वितरण गर्न सुरु गरेको वडा अध्यक्ष सिद्विकीले बताए । खानेपानी महाशाखा प्रमुख गुणनिधी पोख्रेलले कोइलाबासमा खानेपानीको स्रोत तथा मुहानहरू नभएको र डिपबोरिङ पनि सफल भएको नदेखिएकोले खानेपानीको समस्या समाधान गर्न मन्त्रालय तथा महाशाखाको तर्फबाट तत्काल खानेपानीको कामलाई अगाडि बढाउने बताएका छन् । उनले तत्काल सम्पवइल निर्माण गरि शुद्व खानेपानी पु¥याउने लक्ष्य रहेको बताए ।अनुगमनमा लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री भुवनेश्वर ढकाल, मन्त्रालयका सचिव बासुदेव पौडेल, खानेपानी महाशाखा प्रमुख गुणनिधि पोख्रेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, लमही नगरपालिकाका पुर्व मेयर कुलबहादुर केसी, गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खलिक सिद्विकी, पुर्व वडा अध्यक्ष सद्वाम सिद्विकी, मन्त्रीका स्वकिय सचिव प्रकाश भुसाल, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रमुख प्रहरी नायव निरिक्षक कुमार केसी, सशस्त्र प्रहरी नायव निरिक्षक कृष्णबहादुर तोलाङ्गी, पत्रकारहरू ओमप्रकाश गुप्ता र शिवु खनाल, खानेपानी डिभिजन कार्यालय दाङका इन्जिनियर नुतन आचार्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे