प्यूठानको साना किसान सहकारी बाङ्गेसालले मनायो रजत जयन्ती, ९१ जना सम्मानित



प्यूठानको साना किसान सहकारी बाङ्गेसालले मनायो रजत जयन्ती, ९१ जना सम्मानित

भालुवाङ ३० मंसिर । प्यूठानको सरूमारानी गाउँपालिका-१, बाङ्गेसाल स्थित साना किसान कृषि सहकारी संस्था लिमिडेट स्थापना भएको २५ बर्ष पुरा भएको छ । संस्था स्थापना भएको २५ बर्ष पूरा भएपछि संस्थाले आफ्नो कार्यलय परिसर बाङ्गेसालमा आज शनिबार एक कार्यक्रमको आयोजना गरी २५ औँ बार्षिक साधारण तथा रजत जयन्ती मनाएको हो ।

वि.सं. २०५४ साउन १९ गते डिभिजन सहकारी कार्यालयमा बिधिवत रूपमा दर्ता भई नियमित रूपमा आफ्नो गतिबिधिहरू सञ्चालन गर्दै आएको छ । संस्थामा हाल सम्म १ हजार ३ सय ४ जना सेयर सदस्य रहेका छन् । संस्थाको हाल सरुमारानी गाउँपालिकाको वार्ड नम्बर १ र २ लाई कार्यक्षेत्र बनाएर आफ्नो नियमित गतिबिधिहरू अगाडि बढाउँदै आएको छ ।

संस्थाको हाल ४ करोड २७ लाख ८० हजार शेयर पुँजी रहेको छ भने कुल पुँजी २८ करोड ७४ लाख ७२ हजार रहेको संस्थाका बरिष्ठ प्रबन्ध निमराज आचार्यले जानकारी दिए । संस्थाले आर्थिक बर्ष २०७९/८० मा मात्रै १ करोड ५४ लाख १४ हजार नाफा गर्न सफल भएको बरिष्ठ प्रबन्ध आचार्यले जानकारी दिए ।

संस्थाले हाल बचत तथा ऋण कारोबार, सुत्केरी पोषण कार्यक्रम, मृत्यु राहत, सदस्य सुरक्षा योजना बिमा, पशु बिमा कार्यक्रम, नश्ल सुधार तथा बीउबिजन, बोका बितरण कार्यक्रम, गोठ तथा भकारो सुधार कार्यक्रम, छोरी पेवा तथा बाल बचत, सदस्य केन्द्रित मलखाद, बीउ बितरण कार्यक्रम, रेमिट सेवा र सदस्यहरूलाई अध्ययन, अवलोकन भ्रमण लगायत कार्यक्रम गरी सदस्यहरूलाई प्रत्यक्ष रूपमा सेवा प्रबाह गर्दै आई रहेको बरिष्ठ प्रबन्ध आचार्यले जानकारी दिए ।


संस्थाका अध्यक्ष कुलदिप जिसीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष पूर्ण शर्माले लघुबित्तको गलत बित्तीय कारोबारले समान्य नागरिकहरू दुख पाएको आरोप लगाएका छन् । संस्थाको रजत जयन्ती तथा २५ औँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै केन्द्रिय उपाध्यक्ष शर्माले यस्तो आरोप लगाएका हुन् । उनले लघुबित्तका कारण तीन बढी महिलाहरू मर्न बाध्य भएको र साढे तीन महिला दिदी बहिनीहरू साँवा र ब्याज तिर्न नसक्दा बेपत्ता भएको आरोप लगाए ।

केन्द्रिय उपाध्यक्ष शर्माले लघुबित्तको गलत बित्तीय कारोबार कै कारण सहकारी संस्थाहरू समेत प्रभावित हुन थालेकोमा चिन्ता व्यक्त गदै उपाध्यक्ष शर्माले सहकारी संस्था भनेको आफै मालिक रहने भएकोले सहकारी संस्थालाई बढी विश्वास गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य धनबहादुर राइमाझीले सहकारी अभियानलाई सफल र प्रभावकारी बनाउन कृषि उत्पादन तर्फ ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारी संस्था र सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादनमा पोत्साहन गर्न आग्रह गरेका छन् ।
संस्थाका बरिष्ठ प्रबन्ध निर्देशक निमराज आचार्यले आर्थिक प्रतिवेदन, लेखा समितीका संयोजक शिबप्रसाद घिमिरेले लेखा परिक्षण प्रतिवेदन, अध्यक्ष कुलदिप जिसीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा विभिन्न बिधामा ९१ जनालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरूमा संस्थामा कार्यरत बरिष्ठ प्रबन्धनिर्देशक निमराज आचार्य सहित ५ जना उत्कृष्ट कर्मचारीहरू, असल ऋणी तर्फ ८ जना, १ वटा अन्तर समुहका पदाधिकारी, असल तथा नियमित बचतकर्ता तर्फ ९ जना, संस्थाका ७० बर्ष माथिका २६ जना जेष्ठ सेयर सदस्य, उत्कृष्ट कृषि तथा पशुपंक्षीपालन व्यवसाय तर्फ २४ जना, असल ग्रामिण उद्यम ऋणि तर्फ ४ जना, व्यवसायिक उद्यमी तर्फ ४ जना, सेयरपुँजी वृद्धि गर्ने १ जना, असल व्यक्तिगत बचतकर्ता ३ जना, छोरी पेवा बचत तर्फ ३ जना र असल बाल बचत गर्ने ३ जना गरी ९१ जनालाई सम्मान गरिएको छ । उनीहरूलाई नगद, प्रमाण-पत्र र फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

संस्थाकी उपाध्यक्ष नर्मदा गिरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सरूमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, साना किसान विकास लघुवित्त बित्तिय संस्थाका नेपालगञ्ज शाखाका प्रबन्धक शेरबहादुर चौधरी, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेल, सरूमारानी सहकारी सञ्जालका निर्वतमान संयोजक टंकबहादुर जिसी, जिल्ला एरावती बहुउद्देश्य साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष झगबहादुर राना, पत्रकार सन्तोषकुमार गुप्ता र जमिर शाह लगायतका वक्ताले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिती सदस्य इन्द्रमोहन अमात्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे