लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्ने लुम्बिनी प्रदेश सरकारकाे निर्णय
भालुवाङ १९ असाेज । लुम्बिनी प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको सम्मेलन गर्ने भएको छ । लुम्बिनीलाई विश्वमा चिनाउन ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्न थालिएको हो ।
बिहिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले फागुन महिनामा लुम्बिनीमा सम्मेलन आयोजना गर्ने, जसका लागी नेपाल सरकार संग समन्वय गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
सम्मेलनमा नोवेल पुरस्कार विजेताहरुका साथै शक्ति राष्ट्रका राजकुमार, पूर्व प्रमुखहरुलाई सहभागी गराउने तयारी छ । यो सम्मेलनबाट प्रदेशको पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।
नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनोताहरुको सहभागीतामा अन्तराष्ट्रिय स्तरको उक्त कार्यक्रम गर्न बजेटको समेत व्यवस्थापन गरिएको हो ।
लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा कार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको थियो । लुम्बिनीमा अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना गरिने उल्लेख थियो ।
नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।