अदालतको फैसलापछि दाङ उवासंघको किर्ते सम्बन्धी उजुरी माथि छानबिन गर्न बाटो खुल्ला



अदालतको फैसलापछि दाङ उवासंघको किर्ते सम्बन्धी उजुरी माथि छानबिन गर्न बाटो खुल्ला

दाङ १० असोज । यही असोज १३ गते हुन लागि रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा किर्ते रसिद प्रयोग गरेर उमेदवारी दिएको विषयमा परेको मुद्धा रोचक अनि गम्भीर मोढमा उभिएको छ । यो विषयमा उच्च अदालत तुलसीपुरले निर्वाचन आउन ४ दिन बाँकी रहँदा मंगलबार दिनभरिको बहसपछि अन्तिममा जिल्ला प्रशासन कार्यालय दाङलाई नै यो मुद्धाको छिनोफानो गर्नु भनि आदेश गरेपछि यो मुद्धाको विषय रोचक बनेको हो ।

उच्च अदालत तुलसीपुरले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा केही उमेदवारहरुले किर्ते रसिद प्रयोग गरिएको सम्बन्धमा परेको मुद्धाको सन्दर्भमा सम्पूर्ण निर्णय जिल्ला प्रशासन कार्यालय दाङले गर्ने गरी अनुरोधसहितको निर्देशन सुनाएको छ । मुद्धाको विषयमा तीनदिनसम्म लगातार गहिरो अध्ययन र वहस भएपछि अदालतले जिल्ला प्रशासन कार्यालय दाङमा समेत यो विषयमा मुद्धा परेका कारण संघसंस्थाको नियमन प्रशासनले गर्ने भएको हुँदा त्यहीबाट उजुरीको विषयमा छिनो फानो गर्न मंगलबार निर्देशन दिएको हो ।

यस अगाडी सोमबार अदालतले यो विषयमा प्रशासनसँग के निर्णय भएको छ भनि पात्राचार गरको थियो । सोमबार नै जिल्ला प्राशासन कार्यालय दाङले यो विषयमा लिखितरुपमा अदालतमा समेत मुद्धा परेकाले केही पनि कारबाही नगरिएको जानकारी दिएको थियो । सोमबार प्रशासनको पत्र पाएपछि मंगलबार दुबै पक्षका कानून व्यवसायीहरुको वहसपछि अदालतले दाङ उवासंघको उमेदवारीका क्रममा किर्ते रसिद प्रयोग गरिएको विषयमा प्रशासनलाई नै निर्णय गर्नु भनेर आदेश गरेको छ ।

सम्भवत अदालतले यस प्रकारको विषयमा प्रशासनलाई निर्णय गर्नु भनेर गरिएको फैसला यो पहिलो हो । अदालतको फैसलापछि प्रशासनले यो विषयमा छलफल गर्न बुधबार ३ बजे वैठक बोलाएको छ । यस अगाडी जिल्ला प्रशासन कार्यालय दाङले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई लिखित पत्रकाटेर निर्वाचन सम्बन्धि सम्पूर्ण कागजातहरुसहित २०८० असोज ५ गते शुक्रबार ११ बजे हाजिर हुन आदेश गरेको थियो ।

निर्वाचनका क्रममा उम्मेदवारहरुले किर्ते रसिद प्रयोग गरेर उमेदवारी दिनुका साथै फर्जि मतदाताहरु समेत बनाइएको भन्दै जिल्ला प्रशासन कार्यालय दाङमा असोज ४ गते निवेदन परेपछि प्रशासनले असोज ५ गते शुक्रबार ११ बजे निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरुसहित उपस्थित हुन पत्र काटेर उवसंघलाई निर्देशन दिएको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको नाममा पत्र संख्या २०८०÷०८१ र चलानी नम्वर ९५६ मा पत्राचार गरिएको थियो । प्रशासनका प्रशासकीय अधिकृत अमरराज शर्माको नाममा काटिएको पत्रमा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्वर १४ बस्ने दिपेन्द्र पुन मगर समेतले यस कार्यालयमा दर्ता गराउनु भएको निवेदन अनुसार उद्योग वाणिज्य संघको कार्य समितिको आसन्न निर्वाचन २०८० को लागि तयार गरिएका सम्पूर्ण कागजातहरु सहित मिति २०८० असोज ६ गते विहान ११ बजे कार्यालयमा उपस्थिति हुन अनुरोध गरिएको थियो ।

प्रशासनको लिखित पत्र उवासंघमा गएको भएपनि शुक्रबारका दिन प्रशासनले यो विषयमा अदालतमा समेत मुद्धा परेकाले हाल हेर्न नमिल्ने भन्दै कुनै कारबाही प्रक्रिया अगाडी बढाएको थिएन । तर पछिल्लो घटनाक्रमले जिल्ला प्रशासन कार्यालयकै कोर्टमा यो विषयमा फैसला गर्ने गरी अवस्था सिर्जना भएको छ । मुद्धा हालेको पहिलो दिनमै निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरु मगाएको जिल्ला प्रशासन कार्यालय दाङले दाङ उवासंघको निर्वाचनका क्रममा केही उमेदवारहरुले किर्ते रसिद प्रयोग गरेको विषयमा के गर्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे