जंगलकुटीको नाम बदल्दा व्यापक विरोध : रातारात नाम सच्याइयो



जंगलकुटीको नाम बदल्दा व्यापक विरोध : रातारात नाम सच्याइयो

भालुवाङ ९ असाेज । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा अवस्थित धार्मिक तथा ऐतिहासीक महत्व बोकेको पर्यटकीय स्थल सिद्ध बाघनाथबाबा जंगलकुटीको ब्यवस्थापन समितिले मनोमानी ढंगले नाम फेरेर स्वागतद्धारमा ॐ त्रिकुटा गुरुधाम नेपाल नामाकरण गरेको बिषयमा ब्यापक बिरोध भएपछि देउखुरीको माहोल तातिएकाे हो ।

सामाजिक क्षेत्र र सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएपछि ब्यवस्थापन समितिले स्वागतद्धारमा रातारात नाम सच्याएर पहिलेकै नाम लेखेको थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देउखुरीले जनाएको छ । सञ्चालक समितिले कुनै भेला समेत नबोलाई एकल ढंगले नाम परिवर्तन गरि स्वागतद्धार र धाममा ॐ त्रिकुटा गुरुधाम नेपाल लेखेको पाईएको हो । यस बिषयमा शहर बजारको सामाजिक क्षेत्र र सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएको थियो ।

त्यस्तै तत्काल थारु कल्याणकारीणी सभा क्षेत्र नं. १ देउखुरीले आइतबार एक बिज्ञप्ति जारी गरि कडा बिरोध गरेको थियो । उक्त बिज्ञप्ती मार्फत सिद्ध बाघनाथ बाबा जंगलकुटीको नाम ब्यवस्थापन समितिद्वारा ॐ त्रिकुटा गुरुधाम नेपाल राखि बोर्डमा समेत नाम परिर्वन गरिएकोमा जंगलकुटीको इतिहास र गरिमामा ठेस पुग्नेगरी गरिएको उक्त कार्यप्रति कडा आपत्ति प्रकट गरिएको थियो । साथै यस बिषयमा स्थलगत अध्ययन गरि सत्य तथ्य बुझ्न असोज ८ गते सोमबार जंगलकुटीमा कार्यक्रमिक भेला बोलाईएको थियो ।

रातारात नाम फेरिएको बिषयमा बिरोधका स्वरहरु आएपछि थारु कल्याणकारीणी सभा देउखुरी क्षेत्र नम्बर १ ले सोमबार जंगलकुटीको स्थलगत अध्ययन अबलोकन सहितको भेला सम्पन्न गरेको छ । थारु कल्याणकारीणी सभा देउखुरीका बरिष्ठ उपाध्यक्ष गोकुल प्रसाद चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद तथा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा जंगलकुटीमा एक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमले नाम शंसोधन गर्न सकिने भएपनि कुनै भेला नबोलाई समितिको एकल निर्णयबाट नाम परिवर्तन गरिएकोमा यसो गर्नु न्यायोचित नभएको भन्दै आगामी असोज २० गतेका दिन सम्बन्धित सरोकारवाला, स्थानीय सरकार र थारु कल्याणकारीणी सभा सहितको बृहत्त भेला बोलाउने निर्णय भएको कल्याणकारी सभा देउखुरीका सचिव बालगोबिन्द चौधरीले जानकारी दिएका छन् ।

कार्यक्रममा उपस्थित बक्ताहरुले प्राचिन इतिहास बोकेको धार्मीक तथा पर्यटकीय स्थल सिद्धबाघनाथ बाबा जंगलकुटीको नाम एकाएक फेरिनु दुखःद भएको बताएका छन् । यस बिषयलाई हल गर्न उक्त आकस्मिक कार्यक्रमले असोज २० गतेका लागि देउखुरी स्तरीय भेला बोलाउने भएको सभाले जनाएको छ । उक्त भेलामा जग्गाको बिषयमा समेत खोजि गरिने, बिधानको अध्ययन गरिने र शंसोधीत नामका बारेमा पनि छलफल गरिने बताइएको छ । धार्मिक तथा पर्यटकीय स्थलको नाम शंसोधन गरेको सर्बत्र बिरोध भएपछि गल्ती सच्याउदै ब्यवस्थापन समितिले रातारात पुरानै नाम कायम गरेको पाइएको कल्यााकारीणी सभाले जनाएको छ । रातारात नाम फेरीयो र ब्यापक बिरोध पछि रातारात नाम सच्चाईयो पनि यो जायज काम होइन,थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ देउखुरीका सचिव बालगोबिन्द चौधरीले भने । ब्यापक बिरोध नभएको भए चलखेलको संकेत आएको थियो ।

उक्त कार्यक्रममा सांसद चौधरी सहित थारु कल्याणकारीणी सभाका सल्लाहकारहरु बुद्धिजिवी समाजसेवी राजेन्द्र प्रसाद चौधरी, देवनारायण चौधरी, चेतराम चौधरी, कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरी, सत्गौंवा समाज दाङका अध्यक्ष खड्क बहादुर चौधरी र ब्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी तथा पूजारी देबिसिंह चौधरी लगायत ९० जनाको उपस्थिति रहेको थियो । सिद्ध बाघनाथबावा जंगलकुटीको नाममा बिगतमा २५ बिगाह हाराहारीमा जग्गा रहेको र सो जग्गाका बारेमा पनि थारु कल्याणकारीणी सभाले गहिरो ढंगले खोजि गर्ने बताएको छ ।

त्यस्तै हाल १७ बिगाह बढी कुटीको नाममा जग्गा रहेको भएपनि केहि जग्गा पूजारीका छोराहरुको नाममा समेत नामसारी भै आएको र अरु जग्गा कसको नाममा छ भन्ने यकिन नभएको बताईएको छ । जग्गााको दुरुपयोगको कुरा बाहिर आएकोले जग्गाका बिषयमा शसक्त ढंगले खोज अनुसन्धान गर्ने थारु कल्याणकारीणी सभाले जनाएको छ । बाघनाथ बावा जंगलकुटीको दशबर्ष अगाडीदेखि भेला तथा साभारणसभा समेत नगरिएको, इतिहास तथा दस्तावेजहरु पनि ब्यवस्थित नरहेको र लामो समयसम्म एउटै समितिको एकल अधिपत्य रहेको सभाका सचिव बालगोबिन्द चौधरीले जानकारी दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे