ललिता निवास प्रकरण : सीआईबीले गच्छदार र साहसँग पनि बयान लियो



ललिता निवास प्रकरण : सीआईबीले गच्छदार र साहसँग पनि बयान लियो

काठमाण्डाै ५ भदाै । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । सीआईबीले पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि हिजो बेलुका बयान लिएको छ ।

सीआईबीले गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगोलगायतका कर्मचारी फरार छन् । त्यस्तै, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि सीआईबीले आइतवार बयानको कागज गराएको छ ।

पक्राउ पुर्जी जारी नभएकाको हकमा बयान कागज गर्ने प्रचलन छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले ०६६ चैतमा प्रधानमन्त्रीनिवास विस्तार गर्ने निर्णय गरेको थियो । जसका लागि ललितानिवासको जग्गा लिन मन्त्रिपरिषद्ले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयसँग राय मागेको थियो । विजयकुमार गच्छदार त्यसबेला भौतिक योजना मन्त्री र साह राज्यमन्त्री थिए । त्यस्तै, तत्कालीन भूमिसुधारमन्त्री श्रेष्ठले नक्कली मोहीलाई सट्टाभर्नाबापतको जग्गा दिन उपयुक्त हुने कागजात तयार गर्न लगाएका थिए ।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले एक सय ३२ रोपनी जग्गाको मूल्यबराबर बिगो दाबी गरेर एक सयभन्दा धेरै प्रतिवादीविरुद्ध प्रतिवेदन बुझाउने तयारी गरेको छ । शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ, हुपेन्द्रमणि केसी, कैलाशचन्द्र गोयल, शिवरतन सारडा, मनोजकुमार केडियालगायतलाई मुख्य प्रतिवादी बनाएर प्रतिवेदन तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे