सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमती, आज देखि संसद् खुल्ने विश्वास



सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमती, आज देखि संसद् खुल्ने विश्वास

काठमाण्डाै ५ भदाै । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो । समितिको मोडालिटी तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समितिले सहमतिको मस्यौदा तयार पारेर आज बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने बताए । शीर्ष नेताको बैठक आज दिउँसो २ बजे बस्ने तयारी छ । छलफल सकारात्मक भइरहेकाले आजको बैठकपछि संसद्को गतिरोध हट्ने नेताहरुको विश्वास छ । संसद् खुलाउने वातावरण बनेकाले आजदेखि संसद् खुल्ने अपेक्षा गरिएको छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि राखिएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल एमालेले ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै गएको साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सत्ता पक्षले भने उच्चस्तरीय समितिको आवश्यकता नरहेको भन्दै सीआईबीले नै अनुसन्धान गर्ने अडान राख्दै आएको थियो । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शु भित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे