घोराहीमा एक जना युवालाई अपहरण गरेको अभियोगमा २ नाबालक सहित ७ जना पक्राउ



घोराही ५ भदौ । घोराहीमा एक जना युवालाई अपहरण गरेको अभियोगमा दुइ नाबालकसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१९ थकालिकोटका ३२ वर्षीय दिपक सुनार, २४ बर्षका हिरा सुनार, २३ वर्षे जिवन सुनार, ३४ वर्षे खिमबहादुर घर्ती, २० वर्षे मनोज घर्ती मगर र १३ वर्र्षका दुइ बालकपनि रहेका छन् ।

उनीहरुले आइतवार राति साढे १० बजे घोराही–१३ मा डेरा गरि बस्ने ४१ वर्षीय जितबहादुर बिक सुतेको समयमा ढोका खोल्न लगाइ जबरजस्त अपहरण गरि कुटपिट गर्नुका साथै बन्धक बनाएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए । सोमवार विहान साढे तीन बजे मात्रै घाइते अवस्थामा प्रहरीले जितबहादुरको उद्धार गरेको बताएको छ ।

अपहरणको झन्डै चार घण्टापछि घोराही–१९ को थकालिकोटबाट जितबहादुरलाई प्रहरीले दीपक सुनारको खाली घर भित्र बन्धक बनाइ राखेको अवस्थामा उद्धार गरेको डिएसपी गौतमले जानकारी दिए ।घाइते जितबहादुरको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी रहेको छ । डिएसपी गौतमका अनुसार घटना स्थलबाट दीपक र अर्का एक जना १३ बर्षे बालकसहित दुई जना र अन्य पाँच जनालाई सोमबार बिहान साढे दश बजेतिर नियन्त्रणमा लिएको थियो ।
घोराही–१३ सेवार सप्तरंगी टोलमा एक्लै डेरा गरी बस्ने जितबहादुरलाई अपरिचित समुहले अपहरण गरि लगेको कुरा प्रहरीले राति दश बजेर ४८ मिनेटमा स्थानीयबाट सूचना पाएको थियो । सोही सूचनाका अधारमा डिएसपी गौतमको कमाण्डमा प्रहरी टोली खोजीका लागि खटिएको थियो ।
जितबहादुरलाई बन्धक बनाइ लैजाँदा १ ह ४१३१ न को अटो प्रयोग भएको र उक्त अटो दीपक सुनारकै भएको खुलेको प्रहरीले बताएको छ । दीपक र जितबहादुर आफन्त तथा नातोदारपनि रहेको प्रहरी बताउँछ ।

दिपककै योजनामा जितबहादुरको अपहरण गरि रातभर कुटपिट भएको प्रहरीले जानकारी दिएको छ । ‘जितबहादुरलाई दीपककै खाली घरको भुइतलामा बन्धक बनाई कटुपिट गरि घाइते बनाएको अवस्थामा फेला पारिएको हो,’ डिएसपी गौतमले भने ‘ चोरीको अभियोगमा जितबहादुरलाई अपहरण गरि कुटपिट गइ बन्धक बनाएको भन्ने आरोप दीपकले लगाएको भएपनि त्यसबारे अनुसन्धान हुन बाँकी छ ।’ पक्राउ परेकाहरुका बिरुद्ध अपहरण शरिर बन्धक तथा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने तयारी प्रहरीको छ । जिल्ला अदालतले सोमबार नै उनीहरुलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थपिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे