लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयद्वारा राप्तीका विभिन्न स्थानहरुको निरीक्षण



लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयद्वारा राप्तीका विभिन्न स्थानहरुको निरीक्षण

भालुवाङ ११ साउन । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ स्थित विभिन्न स्थानहरुको स्थलगत निरीक्षण गरेका छन् ।मन्त्री पाण्डेयले भालुवाङमा रहेको इलाका प्रहरी कार्यालय भालुवाङ र भालुवाङ नगर विकास समिति भवनको पूर्व तर्फ आँपखोली ठाडो खोलाका कारण गएको पहिरोको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेयले प्रहरी कार्यालयको कम्पाउण्ड, मेश, सम्बन्धित शाखाहरुको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई विभागीय नीति सम्बन्धमा मार्गदर्शन एवम् अपराध रोकथाम नियन्त्रण, शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।

त्यस्तै पहिरो गएको स्थनको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिरो नियन्त्रणको लागि काम थालिने बताए । यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण सँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जोडिएका सिसि क्यामेराहरु मर्मत सँगै आवश्यक स्थानहरुमा क्यामेरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गरेका छन् ।

निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेय सँगै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, इलाका प्रहरी कार्यालय भालुवाङ प्रमुख तथा प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे