लुम्बिनीमा बजेट माथि छलफल शुरू हुन नपाउँदै प्रमुख प्रतिपक्ष एमालेद्वारा संसद अवरूद्ध



लुम्बिनीमा बजेट माथि छलफल शुरू हुन नपाउँदै प्रमुख प्रतिपक्ष एमालेद्वारा संसद अवरूद्ध

भालुवाङ १३ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ । गठबन्धन सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि बुधबारदेखि संसदमा सुरु भएको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी एमाले पूर्वाग्रही,
कार्यकर्ता पोस्ने, बेथिति निम्याउने र राज्य कोषको दुरुपयोग गर्ने खालको भएको भन्दै विरोध जनाएको छ ।

प्रचलित सार्वजनिक खरीद ऐनको आधारभूत सिद्धान्तको रुपमा रहेको प्रतिस्पर्धालाई कमजोर पार्ने उद्देश्यले विनियोजित रकमको खर्च शिर्षकलाई क्रियाकलाप कोडमा विभाजित गरि राज्यकोषको रकम दुरुपयोग गर्ने र त्यसबाट बेथिति निम्त्याउने गलत मनसाय देखिएको प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले बताए । उनले एउटै प्रकृतिका सामानलाई पनि क्रियाकलाप कोडमा नाम दिई १० लाख भन्दा न्यून रकममा विनियोजन गर्ने दुषित
नियत लिई खरीद गर्ने मनसाय देखिएको उनको भनाई छ ।

मेशेनरी औजारमा करोड रकम विनियोजन गरेको देखिन्छ तर क्रियाकलाप कोडमा एसी, इन्र्भटर, कम्प्यूटर, डेस्कटप, ल्यापटप, फोटोकपी, प्रिन्टर, जेनेरेटर विषयमा विभाजन गरी टेण्डर गर्ने रकमलाई सोझै खरीद गरी प्रतिस्पर्धालाई सिमित तथा संकुचन गरी आफूले चाहेको फर्म वा सप्लायर्सबाट अपारदर्शी तरकिाले खरीद गरी राज्यको स्रोत दुरुपयोग गर्ने दुषित नियत देखिएको प्रमुख प्रतिपक्षीको भनाइ छ ।

फर्निचर, फर्निसिङ्ग, कार्यालयका सोफा, पर्दालगायतका सामानमा करोडौ रकम विनियोजन गरेको र यी फर्निचर, फर्निसिङ्गका सामान कार्यालयको आवश्यकताका
आधारमा भन्दा कमिसन पाउने लोभले नियतले कार्यालयमा वर्षेनी पर्दा, कार्पेट फेर्नु पर्ने र सोफा किन्नुपर्ने परिपाटी विकास भएको प्रस्तावित विनियोजन खर्च शिर्षकबाट देखिएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । सचेतक चौधरीले नागरिकको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखी राज्य कोषको रकम खर्च गर्ने भन्दा झिनामसिना आवश्यकता र औचित्यता समेत पुष्टि नहुने डम्पीङ्ग भएर वर्षेनी रही जाने सामान खरिद गर्नेमा रुचि बढ्दै गएको र त्यस्तो खरीद कार्यले प्रतिस्पर्धालाई संकुचन गर्ने, अपारदर्शी हुँदै गएको प्रस्तावित शिर्षकहरुमा प्रष्ट देखिएको दाब गरे ।

सचेतक चाैधरीले एमालेले अहिलेको सरकारले ल्याएको बजेटले समृद्ध प्रदेश र सुखी जनताको लक्ष्यलाई साकार पार्ने खालका सुरुको सरकारले ल्याएका महत्वपूर्ण कार्यक्रमलाई समेत लत्याएको र अनेक शिर्षक राखेर कार्यकर्ता पोस्ने नीति लिएको आरोप लगाएको छ । अहिलेको बजेटले प्रदेशको हित गर्दैन र यसले बेथिति मात्रै निम्त्याउने निश्चित छ, एमालेको आरोप छ ।

बुधबार अपरान्ह सुरु भएको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को प्रस्तावित बेजट माथि छलफल शुरू नहुँदै प्रतिपक्ष दल एमालेले बिराेध जनाउँदै संसद बैठक नै अवराेध गरेपछि अगामी असार १७ गते आईतबार दिउँसाे १ बजे पुन : संसद बैठक बस्ने गरी संसद बैठक स्थगित भएकाे छ ।

यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय सांसदहरूले असन्तुष्टि जनाएपछि बैठक स्थिगित गरि बुधबारका लागि तय भएको थियो । प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे