राप्तीका १८ जना बाख्रापालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा क्रस बाेयर बोका वितरण



राप्तीका १८ जना बाख्रापालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा क्रस बाेयर बोका वितरण

भालुवाङ २९ जेठ । दाङको राप्ती गाउँपालिकाले बाख्रापालक कृषकहरुलाई बाेयर बोका वितरण गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो । गाउँपालिकाले १८ जना बाख्रापालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जीवराज पाैडेलले जानकारी दिए ।

अनुदानमा बोका वितरणका लागि गाउँपालिकाले गत महिनामै आवेदन माग गरेको थियो । प्राप्त आवेदनकाे आधारमा कृषकहरुलाई बाेका वितरण गरिएको शाखा प्रमुख पाैडेलले  बताए। सुर्खेतबाट खरिद गरि ल्याइएका बोयर जातका क्रस बोका गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले साेमबार वितरण गरेका हुन् ।

गाउँपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । नश्ल सुधार गरी गाउँपालिकालाई मासुमा आत्मनिरर्भर गराउने र कृषकको आयस्तर बृद्धि गर्ने उदेश्यले बाेयर जातका बाेका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । ३२ हजार देखि ५५ हजार मुल्य सम्मका बोका किसानले ५० प्रतिशत अनुदानमा पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे