सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ



सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं ८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल  सुर्खेतबाट पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बतायो । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।उनी पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत हुन् ।

यसै बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ,’ वक्तव्यमा भनिएको छ ।

एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको वक्तव्यमा उल्लेख छ । ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हा,’ वक्तव्यमा अगाडि भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमालेमाथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे