भालुवाङ प्रहरीको नियमित चेकजाँच : बसबाट लुकाई ल्याइएको अवैध मल र सिलौटा–ओखल बरामद
भालुवाङ ८ असार । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकबाट प्रहरीले बिलबिजकविहीन रूपमा ल्याइएको युरिया मल तथा सिलौटा–ओखल बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले आइतबार अपरान्ह करिब ५ बजे पूर्व–पश्चिम राजमार्गमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसबाट लुकाई–छिपाई ल्याइएको मालसामान फेला पारेको हो। प्रहरीका अनुसार बसबाट ५ बोरा युरिया मल, ढुङ्गाको लोरीसहितका ८८ थान सिलौटा तथा ढुङ्गाको लोरीसहितका २ थान ओखल बरामद गरिएको छ। बरामद गरिएका सामग्रीहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको प्रहरीले बताएको छ। प्रहरीले बिलबिजकविहीन रूपमा ओसारपसार गरिने सामानमाथि निगरानी बढाइएको र यस्ता गतिविधिविरुद्ध नियमित अनुगमन तथा कारबाही जारी रहने जनाएको छ।

