पत्रकार महासंघका उपाध्यक्ष जिएम र जिल्ला अध्यक्ष केसी सहित दाङका १९० जनाको सदस्यता खारेजी



पत्रकार महासंघका उपाध्यक्ष जिएम र जिल्ला अध्यक्ष केसी सहित दाङका १९० जनाको सदस्यता खारेजी
दाङ १९ जेष्ठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम सहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ । दाङ महासंघका  केन्द्रीय अध्यक्ष विपुल पाेखरेलकाे गृह जिल्ला हाे ।

महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नविकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।

‘केन्द्रीय उपाध्यक्ष जिएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको हो’, अध्यक्ष केसीले बताए । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयम् परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए ।

‘शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले मेरै समेत सदस्यता खारेजीको सिफारिस गरिएको छ’, अध्यक्ष केसीले भने,´महासंघलाई फुलटाइम पत्रकारिता गर्नेको संस्था बनाउन यस्तो निर्णय गरेका हौं ।`सदस्यता खारेजीको सिफारिसमा महासंघ दाङ शाखाका सचिव आरके शीतल, सदस्यहरू गिरिराज नेपाली, सन्तोष केसी र उदय बिसी पनि परेका छन् ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, सञ्चारमन्त्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, संसद सचिवायलका प्रेस विज्ञ डिल्ली मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं संस्कृत विश्व विद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेका स्वकीय सचिव टीका बस्नेत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराई, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस युनियनका उपमहासचिव सुलोचना गाैतम सहित १९० जनाको सदस्यता खारेजीको सिफारिस प्रदेश समितिमा गरिएको छ । सुलोचना पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलकी पत्नी हुन् ।

यो विषयमा पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले गलत ढंगले सिफारिस गरेर दाङ शाखाले शुद्धीकरण अभियानलाई गिजोल्ने प्रयास गरेको बताए । उनले  भने, ‘शुद्धीकरण अभियान गर्नैपर्थ्यो, गर्नैपर्छ । तर, यसमा राख्नुपर्ने मान्छे फालिएका छन् र फाल्नुपर्ने मान्छे सिफारिस भएका छन् । सिफारिसका विषयमा केन्द्रले प्रदेशबाट फाइल मगाउला म आफैँ बसेर छानबिन गर्नेछु ।’

सिफारिसमा विवेक प्रयोग नगरिएको, राजनीतिक आग्रह पूर्वाग्रह राखिएको र क्याम्पियन गरिएको उनले बताए । पत्रकारको परिभाषामा प्रकाशक पनि रहेको स्मरण गर्दै उनले स्थानीय पत्रिकाका प्रकाशकको नाम पनि त्यो सूचीमा राखिएको देख्दा आश्चर्यमा परेको बताए । पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानलाई यो पटक तीव्र पारेको छ । जिल्लाजिल्लामा स्वतस्फूर्त सदस्यता त्यागेको घोषणा गर्नेहरू पनि बढिरहेका छन् ।

यस्ताे छ, महास‌घकाे निर्णय :

मितिः २०८०÷०२÷१८ गते
                                     नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण सम्बन्धी जानकारी
                  नेपाल पत्रकार महासंघ दाङ शाखाको बैठक आज मिति २०८० जेठ १८ गते महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा घोराहीमा बस्यो । बैठकमा नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड–२०७९’ अनुसार दाङ शाखाको सदस्यता शुद्धिकरणका लागि सिफारिस गर्न गठित समितिले पेश गरेको प्रतिवेदन पारित गरियो ।
शाखा उपाध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा सहसचिव दशरथ घिमिरे र सदस्य उदय बिसी सदस्य रहेको समितिले पेश गरेको प्रतिवेदन अनुसार नविकरण गर्न मिल्ने र नमिल्ने सदस्यहरुको टुंगो लगाइएको छ ।
महासंघ दाङ शाखामा रहेका २ सय ७५ सदस्यमध्ये मापदण्ड अनुसार हाल ८५ जना सदस्यको मात्रै नविकरण गर्ने निर्णय गरिएको छ । पत्रकारितामा क्रियाशिल नरहेका, स्वेच्छिक त्याग गरेका र मापदण्ड अनुसार नविकरण गर्न नमिल्ने अबस्थाका ११८ जना सदस्यहरुको नविकरण नगर्ने निर्णय भएको छ ।
सदस्यता शुद्धिकरण सिफारिश समितिले पत्रकारितामा क्रियाशिल रहेका तर मापदण्ड अनुसार नविकरण गर्न नमिल्ने अवस्थाका ८१ जना सदस्यका सम्बन्धमा थप छलफल गर्न आवश्यक देखिएकाले महासंघको प्रदेश र केन्द्रीय समितिमा पठाउन समितिले सुझाव दिएका कारण उक्त सुझावलाई सोही अनुसार पठाउने निर्णय भएको छ ।
बैठकले महासंघका संस्थापक र शाखाका पूर्व अध्यक्षहरुलाई उहाँहरुको चाहना अनुसार मानार्थ सदस्यमा सिफारिश गर्ने निर्णय गरेको छ । दाङ शाखामा सदस्य रहेका तर हाल अन्य जिल्लामा क्रियाशिल रहेका सदस्यका हकमा कार्यरत जिल्लामै सदस्यता स्थानान्तरण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे