संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन लुम्बिनी र कर्णालीका पत्रकार बीच अनुभव आदानप्रदान
सुर्खेत ५ असार । संसदीय पत्रकारितालाई थप प्रभावकारी, उत्तरदायी बनाउन संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच अनुभव आदानप्रदान कार्यक्रम शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ।
कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेको अध्यक्षता एवम् सभामुख चन्दा गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा दुवै प्रदेशका संसदीय पत्रकार, प्रदेश सभाका सदस्य तथा विषयगत समितिका सभापतिहरू बीच अनुभव आदानप्रदान गरिएकाे हाे । कार्यक्रममा बाेल्दै सभामुख गुरुङले लोकतान्त्रिक शासन व्यवस्थामा संसदीय पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले संसद्का गतिविधि, नीति निर्माण प्रक्रिया तथा जनसरोकारका विषयलाई नागरिकसम्म पु¥याउने कार्यमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरिन्। पत्रकार र संसदबीचको सहकार्यले संसदीय प्रणालीलाई अझ पारदर्शी र जनउत्तरदायी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
त्यस्तै उपसभामुख न्यौपानेले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन अनुभव आदानप्रदान कार्यक्रम उपयोगी भएको बताइन्। उनले प्रदेशसभाका गतिविधि र जनताबीचको दूरी घटाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पत्रकारहरूको क्षमता अभिवृद्धि समेत गर्ने विश्वास व्यक्त गरिन्।कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दक्षिणा शाहीले प्रदेश सभामा भएका अभ्यास, नीति निर्माण प्रक्रिया तथा समितिहरूको भूमिकाकाे बिषयमा जानकारी गराउँदै उनले संसदका गतिविधिलाई तथ्यपरक र सन्तुलित ढंगले सार्वजनिक गर्न पत्रकारहरूले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।
संसदीय मामिला पत्रकार समाज कर्णालीका अध्यक्ष देव रानाले कर्णाली प्रदेशमा संसदीय पत्रकारिताको अवस्था, चुनौती र अवसरबारे प्रकाश पारे। उनले संसदीय पत्रकारितालाई थप व्यवस्थित र अनुसन्धानमुखी बनाउन प्रदेशस्तरीय सहकार्य आवश्यक रहेको बताए। त्यसैगरी संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमले लुम्बिनी प्रदेशमा भएका संसदीय अभ्यास तथा पत्रकारिताका अनुभव प्रस्तुत गर्दै प्रदेशहरूबीचको सहकार्यले पत्रकारहरूको क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले लोकतान्त्रिक मूल्य, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन संसदीय पत्रकारिताले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे। प्रदेश सभा सचिव डा. अर्जुनकुमार खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्र पौडेलले गरेका थिए।
