राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
भालुवाङ ५ असार । दाङको राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोक निवासी शिवबहादुर खत्रीका १२ वर्षीय छोरा शुशान्त खत्रीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
साथीहरूसँग दिउँसो करिब १२ बजे नजिकैको राप्ती नदीमा पौडी खेल्न गएका बालककाे नदीमा डुवेर मृत्यु भएकाे हाे । पौडी खेल्ने क्रममा प्रगन्ना सिँचाइ नहरको दोस्रो इन्टेक क्षेत्र अन्तर्गत पाखापानी स्थित राप्ती नदीको मूल नहरमा बालक डुबेका थिए । लामो समयसम्म घर नफर्किएपछि उनका साथीहरूले परिवारलाई खबर गरेका थिए। त्यसपछि उनका बुवा सहित स्थानीयवासीले खोजी गर्दा उनी डुबिरहेको अवस्थामा फेला परेका थिए । बालकलाई तत्काल उपचारका लागि भालुवाङ अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार बालकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ ।मृतक शुशान्त पुल्चोक स्थित लिटिल एन्जल स्कुलमा अध्ययनरत थिए । अत्यधिक गर्मीका कारण राप्ती गाउँपालिका शिक्षा शाखाले २ दिन राप्तीका सवै विद्यालयहरूमा बिदा दिएको थियो। बिदाको माैका छाेपेर बालबालिकाहरु नदीमा नुहाउन गएका थिए ।
