कांग्रेस नेतृ एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधन



काठमाडौँ १६ जेठ । नेपाली कांग्रेसकी नेता एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको छ । मंगलबार अपराह्न काठमाडौंको गौशालास्थित पाण्डेको निजी निवासमा निधन भएको नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा संलग्न पाण्डे महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री र तीन पटकसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पनि बनेकी थिइन् । पाण्डे २०४८, २०५१, २०६४ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिइन् । उनी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा दुई पटक सभापति थिइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनर्स्थापनाको क्रममा पाण्डेले पटकपटक जेल जीवन बिताएकी थिइन् ।

उनको निधनपछि नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र यसबाट अपूरणीय क्षति पुगेको भन्दै दु:ख व्यक्त गरेको छ । साथै कांग्रेस सभापति शेरबहादुर देउवाले पाण्डेको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला अधिकारका लागि उनको योगदान स्मरणीय रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे