मगरहरूको हक अधिकारका लागि एक जुट हुन आवश्यक छ : अध्यक्ष विश्वकर्मा
प्युठान १५ फागुन । सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो हक अधिकारका लागि मगर समुदाय एक जुट हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल मगर संघ मगर समुदाय उत्थान समिति सरूमारानी गाउँपालिका प्युठानको आयोजना एवम् सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा सोमबार सरूमारानी गाउँपालिका ३ बड्डाँडा टुडिखेलमा आयोजित ४१ औँ मगर एकता दिवस कार्यक्रम बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विश्वकर्माले राज्यमा मगर समुदायको सहभागी छ छैन भन्ने विषयमा सोच्न आवश्यक रहेको बताएका छन् । विभिन्न काल खण्डमा मगरहरूलाई प्रयोग मात्र गरेको तर राज्यका हरेक निकायमा मगरको पहुँच तथा सहभागीता नभएकोले पनि मगर समुदाय संगठित हुन जरूरी रहेको बताए ।
समितिका अध्यक्ष तुलसीराम सारूको अध्यक्षता एवम् सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरूले मगरहरूको जातिय भाषा, संस्कार र पहिचानको संरक्षणका लागि ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, प्रवक्ता तथा ४ नम्बर वडा अध्यक्ष चिन्ताबहादुर सोमै मगर, सरूमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिमबहादुर मरसाङ्गी मगर, नेपाल मगर संघ जिल्ला कार्यसमिति प्युठानका सदस्य बालाराम सोमै मगर,खडगेश्वरी मावि दरभानका प्रतिनिधि दामोदर रिजाल, समाजसेवी तथा मगर अगुवाहरू उमबहादुर खाम्चा मगर, गुप्तबहादुर राना मगर, मानबहादुर बराल मगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका सपना गाहा मगरले विभिन्न गीत मार्फत दर्शकहरूलाई मनोरञ्जन दिएकी थिइन् । साथै स्थानीय कलाकारहरूले विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।
मगर अगुवा टिकाराम पल्ली मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समितिका सचिव किसान सारू मगरले गरेका थिए ।