सिलिन्डर ग्यास विस्फोडबाट घाइते सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकलाको स्वास्थ्य अवस्था जटिल बन्दै



काठमाण्डाै ४ फागुन । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकलाको स्वास्थ्य अवस्था जटिल रहेको कीर्तिपुर अस्पतालले जनाएको छ ।

उनीहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुर अस्पतालले थप उपचारका लागि उहाँहरु दुवै जनालाई देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।

अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ । यस्तै, आमा हरिकलाको जिउको धेरैजसो भाग गरी ७० प्रतिशतसम्म जलेको छ । दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँले असर गरेको डाक्टर नकर्मीले बताए  ।

नेपालमा उपचार सहज हुन नसक्ने भन्दै परिवारको आग्रहमा आफूहरुले देश बाहिर उपचारका लागि लैजान सिफारिस गरेको डाक्टर नकर्मीले बताए । गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकि ८६ वर्षिया आमा हरिकला घाइते भएका हुन् ।

खाना खाएर सुतिसकेपछि ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताएका छन् । ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे