राप्ती गाउँपालिकाकाे मावि माैरीघाट र सर्वाेदय माविलाई नमुना विद्यालय बनाउने प्रक्रिया सुरु



भालुवाङ ५ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको थप दुई वटा विद्यालयलाई लुम्बिनी नमूना विद्यालय बनाउने प्रक्रिया अगाडी बढेको छ ।

लुम्बिनी प्रदेशको विकास सँगसँगै शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाको वडा नं.४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट र वडा नं. ५ मा रहेको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँलाई बिग स्कुलका रूपमा बिकास गर्नका लागि प्रक्रिया अगाडि बढाइएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

यसै क्रममा विद्यालयहरुको गुरुयोजना निर्माण गर्नका लागि मंगलबार गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र इन्जीनियर मानबहादुर शाहीले विद्यालयको स्थलगत निरीक्षण गर्नुका साथै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु सँग छलफल गरेका छन् । छलफलको क्रममा विद्यालयका प्रधानाध्यापकहरुले हाल विद्यालयमा रहेका समस्या र भावी योजनाहरुका बारेमा जानकारी गराएका थिए । भने इन्जीनियर शाहीले विद्यालयको माग र आवश्यकताका आधारमा गुरुयोजना निर्माण गरिने बताएका छन् ।

यस भन्दा अगाडि गाउँपालिकाको पहिलो संघिय नमुना विद्यालयको रुपमा आदर्श नमुना माध्यमिक विद्यालय रहेको छ । हाल राप्ती गाउँपालिकामा सामुदायिक विद्यालय तर्फ ६ वटा माध्यमिक विद्यालय रहेका छन् । जस अनुसार वडा नम्बर १ मा राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ, वडा नम्बर २ मा आदर्श नमुना मावि लालमटिया, वडा नम्बर ४ मा माध्यमिक विद्यालय मौरीघाट, वडा नम्बर ५ मा सर्वोदय माध्यमिक सिसहनियाँ, वडा नम्बर ६ मा ज्ञानोदय माध्यमिक पत्थरगढवा र वडा नम्बर ८ मा शंकर माध्यमिक पिपरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे