कार्यक्रमहरूमा कसैले प्लाष्टिकको कपमा चिया दिए नखानु : अध्यक्ष विष्ट



कार्यक्रमहरूमा कसैले प्लाष्टिकको कपमा चिया दिए नखानु : अध्यक्ष विष्ट

भालुवाङ १ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कुनै पनि कार्यक्रममा प्लाष्टिकको कपमा चिया लिएर आए नखान सर्वसाधारण सम्पूर्ण नागरिकमा आग्रह गरेका छन् ।

राप्ती गाउँपालिकाको आयोजनामा बिहीबार सिसहनियाँ स्वास्थ्य चाैकीमा भएको इसिजी सेवा शुभारम्भ कार्यक्रममा प्लाष्टिकको कपमा आएको चिया बहिष्कार गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।

अध्यक्ष विष्टले भने, हामी सचेत वर्ग हो प्लाष्टिकको कपमा चिया खाँदा केही मात्रामा प्लाष्टिक पग्लेर त्यसको केमिकलले क्यान्सर लगायत घातक रोग निम्ताउन सक्छ त्यसैले अहिले सम्म प्लाष्टिकको कपमा चिया खानु भयो अब देखि कसैले पनि प्लाष्टिकको कपमा चिया नखाइदिनु होला यो मेरो अनुरोध हो ।

त्यस्तै अध्यक्ष विष्टले होटल व्यवसायीहरूलाई पनि कार्यक्रमहरूमा चिया लैजाँदा सिसाको कप वा स्टिलको गिलासमा चिया लैजान सुझाव दिएका छन् । राप्ती गाउँपालिकाका नागरिकलाई स्वस्थ तथा निरोगी नागरिक बनाउन राप्ती गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेर कार्यक्रम तथा स्वास्थ्य सेवा विस्तार गरेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे