जबराको कार्यकाल आजदेखि सकियो, निलम्बन फुकुवा गरि अवकाश लिने इच्छा पूरा भएन



जबराको कार्यकाल आजदेखि सकियो, निलम्बन फुकुवा गरि अवकाश लिने इच्छा पूरा भएन

काठमाण्डाै २७ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कार्यकाल मङ्गलवार देखि सकिएको छ । २०७५ साल पुस १८ गते प्रधानन्यायाधीश पदको शपथ लिएर कार्यभार सम्हाल्नुभएका जबराको ६५ वर्षे उमेर हदका कारण आजदेखि कार्यकाल सकिएको हो ।

प्रधानन्यायाधीश भएको सुरुको अवधिमा न्यायालयको शुद्धीकरण अभियान सुरु गर्नुभएका जबरामाथि न्यायपालिकामा विचलन ल्याएको लगायत आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग दर्तासँगै निलम्बनमा पर्नुभएको जबराविरुद्धको महाअभियोग निष्कर्षमा नपुगि उमेर हदका कारण कार्यकाल सकिएको हो ।

महाअभियोग निष्कर्षमा पुर्‍याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उहाँले संसद् सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिनुभएको थियो । मागअनुसार संसद् सचिवालयले २१ गते पत्र दिएको थियो । संसद् सचिवालयको पत्रविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन पर्‍याे । सर्वोच्च अदालतले गएकाे शुक्रवार संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि निलम्बन फुकुवा गरि कामकाज गरेर अवकाश लिने जवराको इच्छा पूरा हुन सकेन । जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले काम गरिरहेका छन् । अब प्रधानन्यायाधीशको रोल क्रममा पनि कार्की नै छन् ।

प्रधानन्यायाधीश हुने योग्यता पुगेका व्यक्तिको नाम न्याय परिषद्ले संवैधानिक परिषदमा पठाउँछ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि संसदीय समितिमा सुनुवाइका लागि नाम सिफारिस गर्छ । संसदीय समितिको सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधान्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले संवैधानिक परिषद् गठन र संसदीय सुनुवाइ समिति तय हुन समय लाग्ने भएकाले प्रक्रिया पनि त्यहीअनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे