राजधानी कार्यान्वयन गर्न जोखिम मोल्नैपर्छ, जुन मैले गर्दैछु : मुख्यमन्त्री



राजधानी कार्यान्वयन गर्न जोखिम मोल्नैपर्छ, जुन मैले गर्दैछु : मुख्यमन्त्री

देउखुरी २७ मंसिर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनका लागि आफूले जोखिम मोलेको बताएका छन् । उनले कार्यकालको अन्तिम समयमा प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गर्न सफल भएकोमा गौरव लागेको बताए ।

‘कसै न कसैले इतिहासको जिम्मेवारी पूरा गर्नुपर्छ । कसै न कसैले यो रिक्स मोल्नैपर्छ र यो बेलामा मैले नै रिक्स मोल्नुपर्छ कि प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिदिनुपर्छ, मुख्यमन्त्री केसीले भने । तर ‘रातारात सारेको भनिनु दुःखद छ । प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिएको हो, उनले भने ।’

सँगै प्रदेशसभा र प्रदेश सरकार एकै परिसरभित्र स्थापना गरेर नयाँ मोडेल स्थापित गर्न सफल भएको उनले बताए । राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले सेवा प्रवाह र कानुन निर्माण गर्ने थलो एकै ठाउँमा स्थापना गरेर नयाँ मोडेल स्थापित गर्न सफल भएको बताए ।

‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने, हरेक विधेयकमा डिल गर्नुपर्छ । हरेक नयाँ विधेयकमा उत्तर दिनुपर्ने हुन्छ । यो हिसाबले हामीले एकै ठाउँबाट सेवा प्रवाह गर्न नयाँ मोडेल स्थापित गर्न खोज्यौं, उनले भने । ‘एउटा परिसरमा आएर सेवा सुविधा लिन सकिने भयो ।’

२०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी तोक्ने निर्णय गरेको थियो ।

राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, अन्य मन्त्रालय तथा विभागहरु राप्ती उपत्यका देउखुरीमा स्थापना हुन थालेका छन् ।

मुख्यमन्त्रीको सरकारी निवाससमेत तयार भएको छ । प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा महत्वपूर्ण मन्त्रालय प्रशासनिक केन्द्र परिसरभित्र स्थापना गर्न थालिएको छ भने बाँकी सातवटा मन्त्रालय परिसर बाहिर सरकारी भवनमा स्थापना गर्न थालिएको छ ।

-नयाँ युगबाेधबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे