दाङको देउखुरीमा भोली राष्ट्रिय झण्डा फहराएर प्रदेश राजधानीको उद्घाटन गरिदै, कार्यक्रमको तयारी पुरा



दाङको देउखुरीमा भोली राष्ट्रिय झण्डा फहराएर प्रदेश राजधानीको उद्घाटन गरिदै, कार्यक्रमको तयारी पुरा

भालुवाङ २७ मंसिर । दाङको देउखुरीमा मंसिर २८ गते अर्थात भोली राष्ट्रिय झण्डा उत्तोलन गरि आैपचारिक रूपमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको छ ।

२०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाकाे दुईतिहाई बहुमतद्वारा नाम र स्थान पारित भए सँगै हालका मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत केही महत्त्वपूर्ण मन्त्रालयहरू स्थायी राजधानीमा आइसकेको र केही मन्त्रालयहरू आउने क्रममै रहेकोले प्रदेश राजधानीलाई भोलि मध्यान्ह १२ बजे हालको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको स्थान तथा साविक राप्ती प्राविधिक शिक्षालय भित्र प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय झण्डा फहराएर प्रदेश सरकारको कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको हो ।

कार्यक्रममा विभिन्न जातजातिको झाँकी सहित एक भव्य समारोहका बीच राजधानीको कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको स्रोतले बताएको छ । स्थायी राजधानीबाट कार्य सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मुल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर कार्यक्रमको तयारीलाई तिव्र बनाएको थियो । हिजो र आज गरि कार्यक्रम तयारी करिव पूरा भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिएका छन् । जस अन्तरगत सरसफाई, स्वागत गेट निर्माण, प्रचारप्रसार, राजमार्ग छेउछाउका प्रतिक्षालय तथा सार्वजनिक स्थल रंगरोगन र मञ्च निर्माण लगायतको काम करिव पूरा भएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिएका छन् ।

कार्यक्रमका दिन थारू, मगर, गुरूङ, अवधी, मुस्लिम लगायत विभिन्न जातजातिको झाँकी प्रदर्शन लगायतको तयारी समेत पूरा भएको मुल समितिका सदस्य तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले जानकारी दिएकी छिन् ।

कार्यक्रममा वर्तमान तथा निवर्तमान मुख्यमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, संघ संस्थाका प्रमुख, सञ्चारकर्मीहरू, सर्वसाधारणहरू गरि करिव २ हजार बढीको सहभागीता रहने अपेक्षा गरिएको छ । यसै बीच कार्यक्रम उपस्थितिका लागि आम दाङ देउखुरीबासीलाई कार्यक्रममा उपस्थित भइदिन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सवैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे