लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको औपचारिक तयारी पुरा



लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको औपचारिक तयारी पुरा

भाल्रवाङ २७ मंसिर । मंसिर २८ अर्थात भोली बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरू हुने भएको छ । मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा गर्ने अन्तिम तयारी गरिएको छ ।

प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला मन्त्रालयले लिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मुल समितिका संयोजक प्रकाश विष्टले मंसिर २८ गते झन्डोत्तोलनसहित औपचारिक रूपमा राजधानी कार्यान्वयन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गरिने बताए । झन्डोत्तलन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन् ।

त्यसपछि त्यहाँ रहेका सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि काम गर्न बाटो खुल्ने विष्टले बताए । यहीँ अन्य मन्त्रालय तथा कार्यालयहरू पनि यथाशीघ्र स्थान्तरण गरिने उनले बताए । उद्घाटनको दिन विभिन्न साँस्कृतिक झाँकीहरू प्रदर्शन समेत गर्ने तालिका छ। स्थानीय बजार देखि मन्त्रालयसम्म सरसफाइ गर्ने पनि तालिका छ । राजधानी सारेसँगै पूर्वपश्चिम राजमार्गमा रहेका यात्रु प्रतिक्षालयमा पनि रंग लगाइएका छन् ।

प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूलाई बोलाइएको छ। दाङ जिल्लाका सबै पालिका प्रमुख-उपप्रमुख, अध्यक्ष- उपाध्यक्ष, वडाअध्यक्ष लगायतलाई पनि निमन्त्रणा गरिएको छ । हाल राप्ती गाउँपालिका वडा नं. ३ लालमटियास्थित पहिले राप्ती प्राविधिक शिक्षालय रहेको ठाउँमा मुख्य मन्त्री, मुख्यसचिवसहित अन्य मन्त्रालयहरू निर्माण गरिएका छन् । मुख्यमन्त्रीको आवस पनि यही भित्र निर्माण गरिएको छ । प्रदेश सभाको दुई तिहाइ बहुमतले २०७७ असोज २० गते दाङको राप्ती गाउँपालिकालाई प्रदेश राजधानीको केन्द्र तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे