लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने त्रिपक्षीय लिखित सहमति



लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने त्रिपक्षीय लिखित सहमति

भालुवाङ १५ मंसिर । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ। आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी बीच बिहीबार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको हो।

वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउ गरेका थिए। डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत पक्ष घेराउ गर्न पुगेका थिए।

गत आइतबारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए। मनोमानी रुपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिदै आएका छन् । पछिल्लो पटक सरुवा भएको केही हप्ता भित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि आन्दोलन चर्किएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे