जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली



जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली

झापा १ मङ्सिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते हुने चुनाव राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता चाहनेका बीचमा हुने जिकिर गरेका छन् । यस अघिका चुनावभन्दा आउँदाे चुनाव निकै महत्त्वपूर्ण भएकाे भन्दै मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनकाे भनाइ थियाे ।

नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले आज बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने दाबी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनमा जान नचाहेको र एमाले सँग मिलेर चुनावमा तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई पनि जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले मङ्सिर ४ गतेकाे चुनावले देश र नागरिककाे भाग्य र भविष्यको फैसला गर्ने भन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना पूरा गर्न पनि देशका सबै क्षेत्रबाट एमालेले जित्नुपर्ने जिकिर गरे ।

उनले नागरिककाे मन र संसदबाट एमालेलाई ढाल्न नसकेर अन्य दलहरू गठबन्धन बनाएर चुनावमा आएको भन्दै गठबन्धन नाममात्रैको भएको टिप्पणी गरे । भन्नलाई पाँच दलीय गठबन्धन भने पनि खासमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचको मितेरी साइनोमात्र भएको ओलीको भनाइ थियो ।

देउवा र प्रचण्डलाई एकै रङकाे चराको संज्ञा दिँदै अध्यक्ष ओलीले गठबन्धनलाई अझ बलियो बनाएर चुनावी प्रतिस्पर्धामा आउन चेतावनी दिँदै जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत नलाग्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे