दाङ निर्वाचन क्षेत्र नं. १ मा मेटमणि र शान्ता चौधरीको चर्चा, पहिले सहकर्मी, अहिले प्रतिस्पर्धीमा



दाङ निर्वाचन क्षेत्र  नं. १ मा मेटमणि र शान्ता चौधरीको चर्चा, पहिले सहकर्मी, अहिले प्रतिस्पर्धीमा

देउखुरी २५ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दाङ क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट नेकपा समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी र नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीबीच प्रतिस्पर्धा हुँदैछ।

२०७४ सालको चुनावमा मेटमणि एमालेको उम्मेदवार थिए । त्यस चुनावमा नेकपा माओवादीसँग तालमेल थियो । मेटमणिले नेपाली कांग्रेसकी सुशीला चौधरीलाई १० हजार ८ सय ३४ मतान्तरले हराएका थिए । तर अहिले परिस्थिति फेरिएको छ ।

यो पालि अघिल्लो चुनावमा हराएको कांग्रेससहितका दलहरुसँग तालमेल गरेर मेटमणि चुनावी मैदानमा छन् । शान्ता र मेटमणि यसपालिको चुनावमा आमनेसामने रहेका छन् ।

मतदाताले कसलाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ । शान्ता चौधरी कमलहरी जीवनबाट राजनीतिमा आएकी हुन् । समानुपातिक प्रणालीमार्फत् कानुन निर्माण गर्ने तहसम्म पुगेकी शान्ता यसपालि प्रत्यक्ष चुनाव प्रणालीबाट उम्मेदवार बनेकी छिन् ।

शान्ता र मेटमणि दुवै बलिया उम्मेदवार हुन् । क्षेत्र नं. १ आदिवासी जनजाती थारु समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो । प्रतिनिधि सभा चुनावमा यहाँ ठूला राजनीतिक दलले थारु समुदायका व्यक्तिलाई नै उम्मेदवार बनाएका छन् ।

यो चुनावमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारीलाई पनि अर्थपूर्ण ढङ्गले हेरिएको छ । यो दलबाट सुरेन्द्र चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नं.१ मा एमालेले शान्तासँगै प्रदेश सभा सदस्यमा १ (१) मा गंगाराम भट्टाई, १ (२) मा कुलबहादुर केसी उम्मेदवार बनाएको छ ।

गठबन्धनबाट प्रदेश-१ (१) माओवादीका इन्द्रजित थारु, १ (२) मा कांग्रेसका अनुराग खड्का उम्मेदवार रहेका छन् । इन्द्रजित चौधरी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री समेत हुन् । प्रतिनिधि सभा चुनावमा मेटमणि र शान्तासहित १२ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे