श्रीलङ्कामा इन्धनको मूल्य घट्यो, गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै पनि दोब्बर



श्रीलङ्कामा इन्धनको मूल्य घट्यो, गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै पनि दोब्बर

एजेन्सी । श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । त्यहाँको ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ कायम गरेको छ ।

घटेको मूल्य गएरातिदेखि नै लागू भएको समाचार संस्था एएफपीले जनाएको छ । तर नियमित पेट्रोलको मूल्य गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ । डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ ।

श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा उपभोक्ताले हप्तौँ लाइन बस्नुपरेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्नलगायतका सामानमा अत्यधिक मूल्यवृद्धिपछि प्रदर्शन चर्किएको थियो ।

तत्कालीन राष्ट्रपति गोटबाया राजापक्षेले जुलाईमा पद त्याग गरी देश छोड्नुपरेको थियो । अहिले इन्धनको समस्या केही समाधान भए पनि गाडी भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्य उस्तै छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि श्रीलङ्कामा २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे