प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै
काठमाडाैँ १५ असाेज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ । आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ ।
आयोगले सो प्रणालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो । सूची पेस गर्दा समानुपातिक र समावेशी सिद्धान्त बमोजिम रित पुगेका आवश्यक कागजात अनिवार्यरुपमा पेश गर्न आयोगले आज दलहरूलाई आग्रह गरेको थियो ।
आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।