लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी



लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी

कञ्चनपुर / चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् ।  विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुई पाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ । भन्सार कार्यालयमा रहेका गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरी, पैठारी गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको गोदाममा थन्किएका छन् ।
यसअघि २०७५ सालको वैशाख, जेठतिर गरिएकोे लिलामबाट भन्सार कार्यालयले झण्डै रु चार करोड राजस्व असुली भएको थियो । दसैँ, तिहारपछि गाडी लिलाम हुने कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे