पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले जित्यो एसिया कप



पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले जित्यो एसिया कप

काठमाण्डौ २७ भदाै । पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ ।  श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिए।

यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।   योसँगै श्रीलङ्काले एसिया कप ६ पटक जितेको छ । एसिया कप अहिलेसम्म धेरै जित्नेमा भने भारत छ, उसले अहिलेसम्म ७ पटक जितेको छ। पाकिस्तानले भने २ पटक जितेको छ।

यता महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ ।

नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ ।समूह ‘ए’ बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।  माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे