बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने



बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

काठमाण्डौ २४ भदाै । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारत सरकारले आउँदो सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवार गरेको अधिकारीहरुले जनाएका छन् । ‘उनीप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ । भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने बेलायती महारानीको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए ।  प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रूपमा स्मरण गरेका छन् । उनले प्रकाशित गरेकाे शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । ‘उनको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन’, प्रधानमन्त्री मोदीले लेखेका छन् ।उनको निधनप्रति विश्वका अन्य देशका नेताहरूले पनि शोक व्यक्त गरेका छन् भने अन्य देशहरूले पनि शोक मनाउने निर्णय गरेका छन् ।

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतको रानीको रूपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गरेकी थिइन्। उनको निधनसँगै उनका छोरा चार्ज तृतीय बेलायतको राजा बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे