इन्जिनियर विशाल अधिकारीद्धारा दाङ क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीकाे घोषणा
दाङ २४ भदाै । इन्जिनियर विशाल अधिकारीले दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारीकाे घोषणा गरेका छन् । विज्ञप्ती निकालेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् ।
यो माओवादी केन्द्रका उपाध्यक्ष महरा यसअघि निर्वाचित भएको क्षेत्र हो । यसपटक फेरि पनि महरा नै पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार हुने नेताहरु बताउँछन् । एमाले महासचिव पोखरेल यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस भएका छन् । यी दुई हेभिवेट नेताहरु लड्दै गरेको क्षेत्रमा इन्जिनियर अधिकारीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । अधिकारी दाङ घोराहीका स्थानीय वासिन्दा हुन् ।
दाङ विकासको संभावनाले निकै अगाडि रहेको तर, नेतृत्वको दुरदर्सिताको अभावमा पछाडि परेको भन्दै उनले विकास र समृद्धिलाई नै नारा बनाएका छन् । ‘मुलुकमा अब थप राजनीतिक अधिकार प्राप्तिको आन्दोलन आवश्यक छैन् । छ त केवल सुशासन, आर्थिक विकास र समुन्नत नेपाल निर्माणको अभियान’ अधिकारीले विज्ञप्तिमा लेखेका छन् ।