आज हरितालिका तीज पर्व मनाइँदै



आज हरितालिका तीज पर्व मनाइँदै

काठमाण्डाै १४ भदाै । आज हरितालिका (तीज) पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । पछिल्ला वर्ष नेपालमा सबै धार्मिक समुदायले तीजलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवम् विश्वासकासाथ मान्ने गरेको पाइन्छ ।     

तीज पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गरी तीजको मौलिकता र सांस्कृतिक महत्त्वको जगेर्ना गरी मनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । साथै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गरेकी छिन् । उनले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले सरकार शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताए । हरितालिका तीज पर्वको अवसरमा शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे