आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना



आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ २७ साउन । पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी महोत्तरीकी निहारिका राजपुतका रूपमा चिनिएकी सोनालीकुमारी सिंहलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ ।

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएको थिएन ।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्जमा राखेर केही बेरमा उनको स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य जाँचपछि निहारिकालाई अस्पताल भर्ना गरिएको महाराजगञ्ज बृत्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले बताए । ‘घटनास्थलबाट उठाएर उहाँलाई केहीबेर प्रहरी वृत्तमा राखेका थियौं, त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकोमा चिकित्सकसँगको परामर्शपछि हाललाई अस्पताल भर्ना गरिएको छ,’ डीएसपी जिसीले भने ।

महोत्तरीको जलेश्वर नगरपालिका-९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेर २०७९ जेठ २७ देखि धर्ना र अनसन बसेकी थिइन् । उनका एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे