दाङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताको उपाधी देउखुरी डोजोलाई



दाङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताको उपाधी देउखुरी डोजोलाई

भालुवाङ २२ असार । दाङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताको उपाधी देउखुरी डोजोले हात पारेको छ । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ देउखुरी कराँते डो, दाङको आयोजनामा दाङको राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालित प्रतियोगिताको उपाधी देउखुरी डोजोले हात पारेको हो ।
त्यस्तै बाल मन्दिर डोजो घोराही दोस्रो र तृतिय अरनिको डोजाे तुलसीपुरले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै उत्कृष्ट पुरूष खेलाडीमा अविषेक भण्डारी र महिला खेलाडीमा बिन्दु जिएम चयन भएका छन् । विजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो । यसै बिच बुधबार प्रतियोगिताको समापन समेत गरिएको छ ।

देउखुरी डोजोका प्रमुख प्रशिक्षक यमलाल वाग्लेको अध्यक्षता एवम् राप्ती गाउँपालिका २ नम्बर वडाका वडा अध्यक्ष तथा प्रबक्ता पहलवान चौधरी (अनुप)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले दुई अक्षरले बनेको शब्द खेल आफैमा सरल भने नरहेको बताए । यसमा एकदमै अनुशासन, मेहनत र लगनशिलको आवश्यकता रहने बताए ।

अनुशासन, मेहनत र लगनशिलका साथ रहेर बिभिन्न स्थान हासिल गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना पनि ब्यक्त गरेका थिए । साथै उनले आगामी दिनमा पनि खेलाडीहरुको उत्साहलाई मध्यनजर राखी गाउँपालिकाले पनि खेलमा लगानी गर्ने बताएका थिए । कार्यक्रमकोे सञ्चालन विकाश भट्टराईले गरेका थिए । प्रतियोगितामा ११ टिमबाट १ सय ४७ जना खेलाडीेले भाग लिएको प्रशिक्षार्थी पत्रकार अरूण पाैडेलले खवर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे