आज मगर समुदायले भूम्या पर्व मनाउँदै, मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त, रोल्पा र रुकुममा सार्वजनिक बिदा



आज मगर समुदायले भूम्या पर्व मनाउँदै, मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त, रोल्पा र रुकुममा सार्वजनिक बिदा

दाङ १ असार । आज मगर समुदायहरुले भूम्या (नाम्क) पर्व मनाउँदै छन् । भूम्या पाङ मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् ।

बैशाख देखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि असार १ गते प्रमुख अवसर हो । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ ।

आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य हो । लुम्बिनी प्रदेश विशेष गरी रोल्पा र रुकुम पूर्वमा भूम्या पर्व मनाइन्छ । प्रदेश सरकारले पनि आज यी दुई जिल्लामा सार्वजनिक विदा दिएको छ ।

साथै आज अन्य जिल्लाका मगर समुदायले पनि भूम्या पर्व मनाउने गर्छन । दाङमा भूम्या पर्व विभिन्न कार्यक्रम गरी ५ दिनसम्म मनाइन लागेको छ । आज असार १ गतेदेखि ५ असार ५ गतेसम्म भूम्या पर्व विभिन्न कार्यक्रम मनाउन थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरले जानकारी दिए ।

भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतिको कामना गर्दै मुख्यमन्त्री केसीले शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री केसीले नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण रहेको भूम्या पर्वको अवसरमा सबैमा हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम हुनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे