आज मातातीर्थ औँसी, आमाको श्रद्धा–भक्तिसाथ मनाइँदै



आज मातातीर्थ औँसी, आमाको श्रद्धा–भक्तिसाथ मनाइँदै

काठमाण्डाै १७ बैशाख । आज मातातीर्थ औँसी, श्रद्धा भक्तिकासाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ ।

शास्त्रमा आमा र जन्मभूमिको महत्त्व दर्शाइएको र विशेषगरी आजका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ-आशीर्वाद थाप्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

त्यस्तै दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । विगतका दुई वर्ष कोरोनाको सङ्क्रमणका कारण मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने मेला स्थगित गरिएको थियो । यस वर्ष मेला लाग्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे