समुन्नती सहकारीद्धारा तरकारी संकलन तथा प्रशोधन केन्द्र स्थापना : बजारीकरणमा सहज



समुन्नती सहकारीद्धारा तरकारी संकलन तथा प्रशोधन केन्द्र स्थापना :  बजारीकरणमा सहज

दाङ ६ वैशाख । दाङको लमही नगरपालिका–२, केरुनिया स्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड आफ्नै भवनमा सरेसँगै तरकारीको बजारीकरणलाई थप व्यवस्थित बनाएको छ ।

वर्षौं देखिको प्रयासपछि सहकारीले आफ्नै संरचना निर्माण गरी औपचारिक रूपमा तरकारी संकलन तथा बिक्री वितरण कार्य सुरु गरेको हो । सघन शहरी विकास तथा भवन निमार्ण कार्यालय घोराही दाङको १ करोड लागतमा २ तले २ वटा हल सहित १ वटा अफिस र १ वटा कर्मचारी कक्ष सहितको एउटा भवन र सोही भवन सँगै हेफर इन्टरनेशनल नेपालको २० लाख ५० हजारको लागतमा १ तले आर्को भवन निमार्ण गरिएको सहकारीका फिल्ड संयोजक सुरज चौधरीले जानकारी दिएका छन् । हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्रद्वारा सञ्चालित आइएएलभीसी परियोजनाको सहयोगमा सञ्चालनमा आएको सहकारीले ११ वटा सहकारीबाट संकलन गरेर दैनिक १४ टन तरकारी बिक्री गर्ने लक्ष्य राखेको फिल्ड संयोजक चौधरीले जानकारी दिए ।

उक्त तरकारी दाङ सहित बुटवल, पाल्पा जिल्ला सम्म खपत हुने गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०८२ साउन १ गते देखि चैत मसान्त सम्म८२ हजार केजी तरकारी बिक्री गरेर कुल २८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो भने २ लाख ५० हजार नाफा कमाउन सफल भएको थियो । सहकारीले अब आफ्नै भवनबाट उत्पादित तरकारीको संकलन, प्रशोधन तथा बजारीकरण गर्ने व्यवस्था मिलाएपछि किसानलाई अझ बजार पहुँचमा सहज भएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले बताइन् । उनले महिलालाई आत्मनिर्भर बनाउने र स्थानीय किसानको जीवन स्तरलाई माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । परियोजना अन्तर्गत दाङ र सल्यान जिल्लाका १० वटा सहकारीमा आबद्ध सदस्यहरूलाई व्यवसायिक रूपमा तरकारी उत्पादनतर्फ अभिप्रेरित गरिएको छ ।

यससँगै उद्यमशीलताको विकास गर्दै एकद्वार प्रणालीमार्फत उत्पादित तरकारी समुन्नती सहकारीकै तरकारी सङ्कलन तथा प्रशोधन केन्द्रमार्फत बिक्री गरिने जनाइएको छ । यस प्रणालीले किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बिक्री हुने र बजारमा आपूर्ति व्यवस्थापन समेत प्रभावकारी हुने विश्वास लिइएको छ । सहकारीका पदाधिकारीका अनुसार यस पहलले ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता प्रवर्धन गर्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने छ । उत्पादनदेखि बजारसम्मको शृङ्खला व्यवस्थित हुँदा किसानको आय वृद्धि हुने र कृषि पेसा प्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ । सहकारी भवनको गृहप्रवेश कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरी, हेफर इनटरनेसनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेशकुमार आचार्य, जिल्ला स्थित अन्य उद्यमी सहकारीका अध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सहकारीका शेयर सदस्य तथा व्यापारी तथा पत्रकारहरूको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा सहकारीको औपचारिक रूपमा तरकारी बजारीकरण कार्यको शुभारम्भ समेत गरिएको थियो । सहकारीको आफ्नै भवनबाट सुरु गरिएको यो पहलले दाङ जिल्लामा कृषि व्यवसायको आधुनिकीकरण र बजार व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे