संस्थागत विद्यालयको शुल्क कार्यान्वयनबाट राप्ती गाउँपालिका पछि हट्यो
भालुवाङ ६ वैशाख । दाङको राप्ती गाउँपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत विद्यालयहरू तर्फ निर्धारण गरेको शुल्क कार्यान्वयनबाट पछि हटेको छ ।
अभिभावको ढाड सेक्ने गरी गत वैशाख ४ गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको सुचना अनुसार भर्ना शुल्क देखि मासिक शुल्क निर्धारण गरेपछि त्यसको व्यापक रुपमा विरोध भइरहेको थियो । देउखुरी टुडे लगायतका सञ्चार माध्यमको निरन्तर खवरदारी र अभिभावकहरुको चर्को विरोध पछि गाउँपालिका सो शुल्क कार्यान्वयन गर्नबाट पछि हट्न बाध्य भएको हो । गाउँपालिकाले आइतवार सुचना निकारेर अभिभावक र सरोकारवालाहरुको व्यापक जनगुनासो र विरोध पछि गम्भीर चासो व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको निर्देशनमा गाउँपालिका अन्तरगतका सम्पूर्ण संस्थागत विद्यालयहरुलाई वैशाख ४ गते स्वीकृत तथा प्रकाशित शुल्क कार्यान्वयन नगर्नु नगराउनु निर्देशन दिइएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय, मसुरियाद्वारा जारी सूचनामा गाउँ शिक्षा समितिको बैठकबाट स्वीकृत शुल्क सम्बन्धमा अभिभावक तथा सरोकारवालाबाट आएका गुनासा, सुझाव र असन्तुष्टिलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ । संस्थागत विद्यालयहरूले निर्धारण गरेको शुल्कमा स्थानीय सरकारबाट आवश्यक पुनरावलोकन गरी एकरूपता कायम गर्नुपर्ने आवश्यकता देखिएको सुचनामा उल्लेख छ । यसअघि विद्यालय सञ्चालक, व्यवस्थापन पक्ष र प्रधानाध्यापकहरूसँग पटक–पटक छलफल गरिए पनि शुल्कका विषयमा थप स्पष्टता आवश्यक देखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शिक्षा सम्बन्धी प्रचलित कानुनी व्यवस्था, शिक्षा नियमावली तथा शुल्क निर्धारण मापदण्डका आधारमा मात्र शुल्क लागू गर्नुपर्ने स्पष्ट पारेको छ । साथै अभिभावक र सरोकारवालाबाट आएको प्रतिक्रियालाई सकारात्मक रूपमा लिँदै पुनः छलफल, अध्ययन र विश्लेषणपछि मात्रै नयाँ निर्णय गरिने जानकारी दिइएको छ । यसैबीच गाउँपालिकाले सबै संस्थागत विद्यालयहरूलाई स्वीकृत तथा प्रकाशित शुल्क तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ । आगामी दिनमा अभिभावक, विद्यालय र सरोकारवालाबीच समन्वय गरी निष्पक्ष र व्यवहारिक शुल्क निर्धारण गरिने जनाइएको छ । गाउँपालिकाले विद्यालयहरूको वर्गीकरण तथा अनुगमन प्रक्रिया समेत अगाडि बढाइरहेको र सोको आधारमा शुल्क लगायतका विषयमा टुंगो लगाइने बताएको छ ।


