कृषि मन्त्री शर्माको सांसद र मन्त्री पद गुमेकाे छैन : मन्त्री शर्माको सचिवालय



कृषि मन्त्री शर्माको सांसद र मन्त्री पद गुमेकाे छैन : मन्त्री शर्माको सचिवालय

बुटवल ११ फागुन । लुम्बिनी प्रदेशकी, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीको सांसद र मन्त्री पद खारेज भएको भन्ने कुरामा सत्यता नभएको मन्त्री रायमाझीको स्वकीय सचिवालयले दाबी गरेको छ ।

मन्त्री रायमाझी सहित जसपाका तत्कालिन प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डे,बिजय कुमार यादब र कल्पना पाण्डे लम्सालमध्ये रायमाझीको मुद्धा तामेलीमा राख्ने सर्वोच्च अदालतको निर्णयलाई उनको सांसद र मन्त्री पद खारेज भएको अर्थ लगाई आएका समाचारमा सत्यता नभएको भन्दै सचिवालयले जनाएको छ ।

मन्त्री रायमाझीका स्वकीय सचिब प्रविन बर्माले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी मन्त्री रायमाझीमाथी पार्टीले गरेको कारबाही फिर्ता लिएसँगै उनकाे प्रदेशसभा सदस्य पदमा बहाल रहेको र प्रदेश सभा सदस्यकै हैसियतमा मन्त्री पदमा कायमै रहेको जनाएका हुन् ।

पार्टीले मन्त्री रायमाझी सहित जसपाका तत्कालिन प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डे,बिजय कुमार यादब र कल्पना पाण्डे लम्सालमाथि गरेको कारबाहीको आधारमा प्रदेश सभा सचिवालयले उनिहरूकाे पद नरहेको भनी प्रदेश सभा सचिवालयले जारी गरेको सूचना बिरुद्धको रिटमा मिति २०७८/२/३ गते सर्वोच्च अदालतका न्यायाधिश नहकुल सुवेदीको इजलासले अल्पकालिन आदेशमा पदमा बहाल भै प्रदेश सभा सदस्यको हैसियतले गर्नुपर्ने काम कारबाही गर्दै आएकोमा मिति २०७८/३/१८ मा सुमन शर्मा रायमाझीलाई जसपा केन्द्रीय कार्यकारिणी समिति समक्ष आत्मालोचना गरी पार्टी अनुशासन मान्ने प्रतिवद्धता जाहेर गरेको र पार्टीले सो कुरा स्वीकार गरी मिति २०७८/४/१२ उहाँमाथिको कारबाही फिर्ता लिई मिति २०७८/४/१४ मा सो व्यहोराको पत्र प्रदेश सभा सचिवालयमा पठाएपछि सोही पत्रको आधारमा प्रदेश सभा सचिवालयले पनि उहाँमाथिको कारबाही फुकुवा गरिसकेको अवस्थामा सर्वोच्च अदालतमा दिएको रिटको औचित्य समाप्त भएको ठानी उहाँले मिति २०७८/७/१७ गतेदेखि अदालतमा तारेख लिन छाडेको विज्ञप्तिमा उल्लेख छ ।

यता लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले पनि मुद्धा तामेलीमा राख्दैमा कसैको पद नजाने दाबी गरे ।
तामेलीमा राख्नुको अर्थ मुद्धा एक्टिभ छैन भन्ने हो भन्दै उनले उत्प्रेषण वा परमादेशको आदेशले मात्रै पद जाने जिकिर गरे ।

प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि सर्वोच्च अदालतको अल्पकालीन आदेशमा मन्त्री राईमाझीकाे प्रदेशसभा सदस्यमा बहाल रहेको र उनको बिपक्षमा मुद्धा फैसला नहुँदासम्म उनको पद रिक्त नहुने प्रतिक्रिया दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे