प्रदेशबासीका लागि यो बर्ष उपलब्धीमुलक बनेको छ : मुख्यमन्त्री केसी



प्रदेशबासीका लागि यो बर्ष उपलब्धीमुलक बनेको छ : मुख्यमन्त्री केसी

भालुवाङ ३ फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउनको लागि अधिकतम प्रयास गरेको बताएका छन् । उनले प्रदेशको लागि करिब चार वर्ष उपलब्धिको वर्ष भएको दाबी गरेका छन् ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा म‌‌गलबार देउखुरीको राप्ती गाउँपालिका—३, राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा आयोजना गरिएको मुल समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी वर्ष सरकारका लागि थप उपलब्धीको वर्ष हुने दावी गरेका हुन् ।

उनले भने ‘लुम्बिनी प्रदेशवासीको लागि चार वर्ष उपलब्धिमूलक वर्ष बनेको छ । आगामी दिनमा अझै प्रभाकारी रुपमा अगाडि बढाउनु छ,’ ‘प्रदेश समृद्धिको यात्रामा छ ।’ राजनीतिक एकता र सहकार्यमा जोड दिंदै उहाँले ‘सरकारको ३ वर्ष राजनीतिक हिसाबले एकलजस्तो देखिए पनि, ‘पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले जनतालाई सेवा प्रवाहमा सहजता मिलेको मुख्यमन्त्री केसीले भने ।’

उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशवासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायत सबै पक्षको सुधारका गर्नका लागि निरन्तर प्रतिवद्ध रहेको समेत बताए ।  उनले गौतम बुद्धको जन्म र परिवर्तनको लागि उर्वर भूमि लुम्बिनी प्रदेश जनतालाई अनुभूती हुने गरी अगाडि बढाएको बताए । उनले लुम्बिनी प्रदेशलाई समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माण गर्नका लागि अगाडि बढाएको बताउँदै त्यसका लागि लुम्बिनी प्रदेशबारीलाई आह्वान गरे ।

प्रदेश सरकारले प्रदेशमा रही विभिन्न समाज सेवा गर्दै आएका ५७ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ । यस्तै प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु राखेको थियो । स्थापना दिवसको अवसरमा नै लुम्बिनी प्रदेशको राजधानी निर्माणको लागि गुरुयोजना र जग्गा एकीकरणको कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुति गरिएको थियो ।

त्यस्तै स्थापना दिवसमा विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत र प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको छ । प्रदेश सरकारको चार वर्षका उपलब्धि समेटिएको स्मारिका पुस्तक विमोचन गरिएको छ । स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरू दाङको देउखुर स्थित राप्ती प्राविधिक शिक्षालायमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

यता प्रदेश स्थापना दिवस समारोह कार्यक्रमको म‌गलबार रेडियो राप्ती ९८.४ मेगाहर्जऽ राप्ती टेलिभिजन र  www.deukhuritames.com सहित विभिन्न टेलिभिजनले समेत प्रत्यक्ष प्रसारण गरेको थिए । त्यस्तै प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको थियो ।

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।  स्थापना दिवसको अवसरमा १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन् ।

जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन् । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजनाले जनयुद्धका क्रममा मारिएका थिए । यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी छन् ।

यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग दुई जनालाई प्रदान गरिएको हो ।

यस्तैगरी उजिरसिंह दीप पदक ख चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ आठ जनालाई, समाजसेवा श्री पदक ‘ग’ दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’ एक जनालाई, प्रदेश रत्न पदक ग दुई जनालाई, पुथाश्री शिखर पदक ग एक जनालाई, प्रदेश प्रज्ञा पदक ख दुई जनालाई प्रदान गरिएको छ ।

प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, प्रजापति गौतमी पदक ‘ग’ दुई जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ एक जनालाई प्रदान गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे