काठमाण्डौमा आज देखि जोर–बिजोरको नियम हट्यो, फागुन १ गते देखि शिक्षण संस्था खुल्ने



काठमाण्डौमा आज देखि जोर–बिजोरको नियम हट्यो, फागुन १ गते देखि शिक्षण संस्था खुल्ने

काठमाण्डाै २४ माघ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाण्डौ उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । हिजो बसेको काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोर-बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।

यस्तै शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन  गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको छ ।

कोभिड तेस्रो लहरका कारण माघको पहिलो हप्तादेखि विद्यालय बन्द छन् । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे