गढवामा नेपाल पुस्तक व्यवसायीद्वारा २ लाख बढीको शैक्षिक सामाग्री वितरण



गढवामा नेपाल पुस्तक व्यवसायीद्वारा २ लाख बढीको शैक्षिक सामाग्री वितरण

गढवा २३ माघ । बसन्त पञ्चमीको अवसर पारेर नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ क्षेत्रीय समिति देउखुरीले शैक्षिक सामाग्री सहयोग संकलन गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ ।महासंघको केन्द्रिय कार्यक्रम अनुसार बसन्त पञ्चमीको अवसर पारेर विद्यालयहरुमा सहयोग गर्ने निर्णय अनुसार गढवा स्थित कालिका आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । महासंघ क्षेत्रीय समिति देउखुरीका अध्यक्ष कमलबहादुर खड्काको अध्यक्षता, गढवा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्यामबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय कार्यसमितिले गरेको उदाहरणीय कार्यको प्रशांसा गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षा शाखा प्रमुख श्यामबहादुर बिश्वकर्माले कालिका विद्यालयमा अभिभावकहरुको उपस्थितिलाई देखेर आफु खुसी भएको बताए । त्यसै गरि कार्यक्रममा विशिष्ट अथिति एवम् नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भैरवबहादुर रावलले समाजमा शैक्षिक प्रगतिको लागि विद्यार्थी, अभिभावाक दुबैमा पठन संस्कृतिको विकास हुनु आवाश्यक रहेको बताए ।बर्तमान समयमा धनदौलत भन्दा पनि सबै भन्दा मुल्यवान सम्पती विद्या रहेकोले यस विषयमा सरकारले पनि विशेष चासो दिएर गुणस्तरीय शिक्षामा जोड दिएका थिए । कार्यक्रममा महासंघका क्षेत्रीय समितिमा आबद्ध ४१ जना पुस्तक व्यवसायीद्वारा सहयोग गरिएको १ लाख ७१ हजार ८ सय १० रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामाग्री र कार्यसमितिको कोषको तर्फबाट २९ हजार ९ सय बराबरको ४६ थान झोला गरी कुल २ लाख १ हजार ७ सय १० रुपैयाँ बराबरको सहयोग गरिएको क्षेत्रीय समितिका सचिव अनिल पौडेलले बताए । कार्यक्रममा ५३ जना विद्यार्थीका अभिभावकलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

सामाग्री हस्तान्तरण समारोहमा कालिका आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अतिउल्ला मनिहार, विद्यालयका प्रधानाध्यापक छुनीलाल चौधरी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष दिपक भुसाल, जिल्ला उपाध्यक्ष पदम भण्डारी, जिल्ला सहसचिव भानु यादव, पुर्व जिल्ला सदस्य ताराप्रसाद चुदाली, पत्रकारहरु शिवराज पन्थी, दुखहरण यादवको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव अनिल पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे