राप्तीको सार्वजनिक सुनुवाइ : जनताको सुझावले नै विकासको दिशा तय हुन्छ : अध्यक्ष विष्ट
भालुवाङ १४ साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सम्म सम्पन्न भएका विकास निर्माण, बजेट कार्यान्वयन तथा सेवा प्रवाहको अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले बिहीबार गाउँपालिकाको सभाहल, मसुरियामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक बीच प्रत्यक्ष संवाद भएको हो। राप्ती प्रेस मञ्चको सहजीकरणमा आयोजित कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म भएका गतिविधि, विकास योजनाको प्रगति, बजेट खर्चको अवस्था तथा विभिन्न क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेको थियो। कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक सुरक्षा, खानेपानी, सिँचाइ, सडक, विद्युत्, न्यायिक सेवा, प्रशासनिक सेवा तथा सुशासनसँग सम्बन्धित विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकले विकास निर्माणको गुणस्तर, योजनाको प्रभावकारिता, बजेट खर्चको पारदर्शिता, सेवा प्रवाहमा देखिएका समस्या, कर्मचारीको कार्यशैली, कृषि क्षेत्रमा आवश्यक सहयोग, स्वास्थ्य सेवाको पहुँच, शिक्षा क्षेत्रको सुधार, सडक तथा सिँचाइ पूर्वाधारको विस्तारलगायतका विषयमा खुलेर प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए। सहभागीहरूले गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी दिनमा अझ प्रभावकारी योजना कार्यान्वयन गर्न आग्रह गरेका थिए।
स्थानीयले विशेषगरी ग्रामीण सडकको स्तरोन्नति, कृषि उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम, विपन्न समुदायका लागि लक्षित कार्यक्रम तथा सेवा प्रवाहलाई थप सहज र छरितो बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडा अध्यक्ष तथा सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए। उनीहरूले नागरिकका गुनासा र सुझावलाई आगामी योजना तथा नीति निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सीमित स्रोतसाधन र बजेटका बाबजुद नागरिकको आवश्यकता सम्बोधन गर्ने गरी गाउँपालिका निरन्तर अघि बढिरहेको बताएका छन् । उहाँले स्थानीय सरकारको उद्देश्य विकास निर्माण मात्र नभई गुणस्तरीय सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको उल्लेख गरे । अध्यक्ष विष्टले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गरी गाउँपालिकाका दीर्घकालीन विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए । विकासका काममा स्थानीय नागरिकको सक्रिय सहभागिता, सुझाव र निगरानीले परिणाममुखी उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
निर्वाचनका क्रममा सार्वजनिक गरिएको घोषणापत्रका अधिकांश प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै अध्यक्ष विष्टले करिब ८० प्रतिशत प्रतिबद्धता पूरा भइसकेको दाबी गरे । बाँकी रहेका योजनाहरू पनि प्राथमिकताका आधारमा चरणबद्ध रूपमा सम्पन्न गरिने उनले स्पष्ट पारे । “राप्तीवासीबाट प्राप्त हुने रचनात्मक सुझाव, सल्लाह र खबरदारीले स्थानीय सरकारलाई अझ उत्तरदायी र जिम्मेवार बनाउन सहयोग पुर्याउँछ,” अध्यक्ष विष्टले भने, “जनप्रतिनिधि जनताका सेवक हुन् । त्यसैले नागरिकका समस्या सुन्ने, समाधान खोज्ने र बस्तीमै पुगेर सेवा दिने अभ्यासलाई हामीले निरन्तरता दिएका छौं।”उनले सार्वजनिक सुनुवाइलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई जनप्रतिनिधि र नागरिकबीच विश्वासको सम्बन्ध मजबुत बनाउने प्रभावकारी माध्यमका रूपमा लिइएको बताए । नागरिकका गुनासा तत्काल सम्बोधन गर्न सकिने विषयमा तत्कालै निर्णय गर्ने र दीर्घकालीन योजना आवश्यक पर्ने विषयलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरिने उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले गाउँपालिकाले सेवा प्रवाहलाई थप सहज, सुलभ र नागरिकमैत्री बनाउन निरन्तर सुधारका प्रयास गरिरहेको जानकारी दिए । उनका अनुसार प्रशासनिक प्रक्रियालाई छरितो बनाउने, सूचना प्रवाहलाई व्यवस्थित गर्ने तथा सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ। उनले पारदर्शिता, जवाफदेहिता र सुशासन स्थानीय सरकारका प्रमुख आधार भएकाले सबै शाखाले नागरिकप्रति जिम्मेवार भएर काम गरिरहेको बताए । सेवा प्रवाहमा देखिएका कमजोरी सुधार्दै गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सार्वजनिक सुनुवाइका क्रममा शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनका योजना र प्राथमिकताबारे जानकारी दिएका थिए। उनीहरूले नागरिकबाट आएका सुझावलाई आगामी कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा समावेश गरिने बताएका थिए। कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को प्रगतिविवरण गाउँपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनिल आचार्य र नागरिक प्रतिवेदन राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीले प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता तथा वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार, शिक्षक, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
