राप्तीमा जेष्ठ नागरिकलाई निशुल्क उपचार : लक्षित वर्गका लागि एम्बुलेन्स पनि निशुल्क



राप्तीमा जेष्ठ नागरिकलाई निशुल्क उपचार : लक्षित वर्गका लागि एम्बुलेन्स पनि निशुल्क

भालुवाङ १३ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ।

स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार निशुल्क उपलब्ध गराइरहेको जनाएको छ। राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुशील केसीले उपचार खर्चका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको बताए । आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्था सँग समन्वय गरि रिफर गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घरआँगनसम्म सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइरहेको बताए। उनका अनुसार गाउँपालिकाले पालिका भित्रका ८० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका क र ख वर्गका नागरिक, सडक दुर्घटनाका घाइते तथा बेसहारा नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। राप्ती आधारभूत अस्पतालमा राप्ती गाउँपालिकाका बासिन्दा सँगै छिमेकी स्थानीय तह र अन्य जिल्लाबाट समेत दैनिक रूपमा बिरामी उपचारका लागि आउने गरेकाे अस्पताल प्रशासन प्रमुख पृथ्वी पाैडेलले जानकारी दिए। अस्पतालले नियमित ओपीडी, आकस्मिक सेवा, प्रयोगशाला, एक्सरे,फार्मेसी लगायत आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे