राप्तीका १४५ विपन्न किसानलाई उन्नत जातका फलफूलका बिरुवा वितरण
भालुवाङ १४ साउन । दाङको राप्ती गाउँपालिकामा समुदायका विपन्न किसानहरूको खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत १४५ जना विपन्न किसानलाई घरबगैंचा स्थापना गर्न आवश्यक उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको हो।
परियोजनाको “खाद्य तथा पोषण सुरक्षा” कार्यक्रमअन्तर्गत किसानहरूलाई उनीहरूको आवश्यकता अनुसार उन्नत जातका आँप, लिची, कागती, केरा, मेवा र अम्बा (बेलौती) का बिरुवा उपलब्ध गराइएको छ।
घरमै पोषणयुक्त फलफूल उत्पादन गर्न प्रोत्साहन गर्ने, परिवारको पोषणस्तर सुधार गर्ने तथा अतिरिक्त उत्पादन बिक्रीमार्फत किसानको आयआर्जन बढाउने उद्देश्यले बिरुवा वितरण गरिएको परियोजनाले जनाएको छ। यस कार्यक्रमले घरबगैंचाको विस्तारसँगै स्थानीय स्तरमा खाद्य सुरक्षा र पोषण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। वि.सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापना भएको नामसालिङ सामुदायिक विकास केन्द्र ले वि.सं. २०७४ देखि दाङको राप्ती गाउँपालिकामा “एकीकृत सामुदायिक विकास परियोजना” सञ्चालन गर्दै आएको छ। परियोजनामार्फत कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
संस्थाका दाङ कार्यक्रम संयोजक शशांक आचार्यका अनुसार परियोजनाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गराउने तथा दिगो सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। स्थानीय किसानहरूले फलफूलका बिरुवा वितरण कार्यक्रमले घरबगैंचाको विस्तारसँगै भविष्यमा आम्दानीको नयाँ आधार सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।
